वर्षेनी सेयरधनी मख्ख बनाउँदै आएको नबिल बैंकले यो वर्ष कति देला लाभांश ?

205
0
Share:

अहिले लाभांश घोषणाको सिजन चलिरहेको छ । विभिन्न कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

कतिपयले कम्पनीहरुले त गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेर साधारणसभाबाट पारित गरी सेयरधनीको खातामा समेत पठाउन समेत थालेका छन् ।

त्यसैगरी, कतिले धमाधम लाभांश घोषणा गरिरहेका छन् भने कोही लाभांश घोषणा गर्ने तर्खरमा छन्  ।  केही कम्पनीले त लाभांश पारित गर्न धमाधम साधारणसभा समेत आह्वान गरिरहेका छन् ।

हालसम्म ८ वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसिसी, बैंक अफ काठमाण्डू, कुमारी र सिटिजन्स बैंकले लाभांश प्रस्ताव गरेका छन् । जसमध्ये कुमारी र सिटिजन्स बैंकको साधारणसभाबाट लाभांश पारितसमेत भइसकेको छ ।

अन्य बैंकहरु पनि लाभांश घोषणाको आन्तरिक तयारीमा जुटेका छन् । वाणिज्य बैंकहरुमा पनि नबिल बैंकले कति लाभांश देला भन्नेमा लगानीकर्ताको चाँसो अलिक बढी नै छ । किनभने नबिलले लगानीकर्तालाई वर्षेनी राम्रो प्रतिफल दिँदै आएको छ । त्यसैले पनि यस पटक नबिलले कति लाभांश देला भन्नेमा लगानीकर्ताहरुको उत्सुकता बढी नै छ ।

नबिल बैंक वि.स. २०६४ साल साउन ९ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएर दोस्रो बजारमा कारोबार गर्दै आइरहेको छ । धितोपत्र दोस्रो बजारमा नबिल बैंकलाई वाणिज्य बैंकमध्येको उत्कृष्ट मानिन्छ । प्रतिफलको हिसाबले होस् या सेयर मूल्य । यो बैंक अरुभन्दा अब्बल नै मानिन्छ  ।

यस्तो छ लाभांश इतिहास

आर्थिक वर्ष २०७७/२०७८ का लागि  बैंकले आफ्ना सेयरधनीलाई ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यसैगरी, आव २०७६/७७ का लागि ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ)  गरी कुल ३५.२६ प्रतिशत लाभांश बाँडेको बैंकले आव २०७५/७६ र २०७४/७५ मा कुल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । यी दुवै वर्षमा बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गरेको थियो ।

त्यस्तै, आव २०७३/७४ मा बैंकले ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ४८ प्रतिशत लाभांश वितरण गर्यो ।

आव २०७२/७३ मा  ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ४५, आव  २०७१/७२ मा ३० प्रतिशत बोनस सेयर र ६.८४२ नगद लाभांश (कर समेत) गरी कुल ३६.८४२ प्रतिशत र आव २०७०/७१ मा २० प्रतिशत बोनस र ५५ प्रतिशत नगद लाभांश दिएर सेयरधनीलाई मख्ख पार्यो ।

त्यस्तै, आव २०६९/२०७० कुल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा २५ प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद लाभांश थिए ।

आव २०६८/६९ मा २० प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद लाभांश गरी कुल ६० प्रतिशत लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०६७/६८ मा भने ३० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।

त्यसैगरी, आव २०६०/२०६१ मा ६५ प्रतिशत, आव २०६१/०६२ मा ७० प्रतिशत, आव २०६२/२०६३ मा ८५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यसपटकको लाभांश क्षमता कति  ?

वर्षेनी उत्कृष्ट प्रतिफल दिएर लगानीकर्ता खुशी बनाउँदै आएको बैंकले गत आर्थिक वर्षका लागि कति लाभांश देला त ?

कुनै पनि कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश अर्थात् प्रतिफल वितरण गर्ने गर्छन् । त्यसैले गत वर्ष उक्त कम्पनीको नाफा र लगानीकर्तालाई बाँड्न सक्ने वितरणयोग्य नाफा कति छ भन्ने कुराले महत्वपूर्ण अर्थ राख्छ ।

गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म अर्थात् असार मसान्तसम्मको वित्तीय विवरणलाई हेर्ने हो भने सबैभन्दा धेरै वितरणयोग्य मुनाफा नबिल बैंकको देखिएको छ । नबिलले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ३९.९४ प्रतिशतसम्म लाभांश वितरण गर्न क्षमता राख्छ ।

हाल चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ रहेको बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९ अर्ब १२ करोड १ लाख रुपैयाँ रहेको थियो ।

कमेन्ट गर्नुहोस्