
राधी विद्युत कम्पनी लिमिटेडले अवितरित सेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले असोज ५ गतेदेखि २५ गतेसम्म १ बराबर १.४७५२ अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा बाँडफाँट नभएको सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो।
कम्पनीले ९५ लाख ३५ हजार ७६०.९९ कित्ता सेयर निष्काशन गरेको थियो। सोमध्ये रितपूर्वक आवेदन दिएका ३८ हजार ५०५ सेयरधनीहरुलाई ८२ लाख ३५ हजार २३३ कित्ता शेयर बाँडफाँट गरेको थियो। बाँडफाँट नभएको १३ लाख ५२७.९९ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो।
सो सेयर खरिदका लागि लगानीकर्ताले कात्तिक २९ गतेदेखि मंसिर ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। सो सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन्।
शेयरको न्यूनतम मूल्य प्रतिसेयर १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हद तोकिएको छैन।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, इटहरी, विराटनगर, इलाम, बिर्तामोड, वीरगंज, जनकपुर, नारायणगढ, हेटौँडा, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगंज, दाङ्ग, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन्।








