दाहाल : हिँड्दै छन्, पाइला मेट्दै छन्

144
0
Share:

 माओवादी अध्यक्ष पुष्पकमल दाहाल मूलधारको राजनीतिमा फर्किएपछि हरेक संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन् तर हरेक पटक निर्वाचन क्षेत्र बदलेका छन् । यो उनको रहर मात्र नभएर बाध्यता पनि हुन सक्छ किनकि ०७० मा काठमाडौं–१० मा दोहोर्‍याएर उठ्दा उनी तेस्रो भएका थिए ।

०६४ मा रोल्पा–२ तथा काठमाडौं–१०, ०७० मा सिरहा–५ र ०७४ मा चितवन–३ बाट प्रतिस्पर्धा गरेका उनी यसपालि गोरखा–२ पुगेका छन् । दाहाल निर्वाचन क्षेत्र मात्र होइन, भाष्य पनि बदल्दै हिँड्छन् । रोल्पा पुग्दा युद्धको विरासतमा ‘नोस्टाल्जिक’ हुन्छन्, सिरहा पुग्दा मधेसको ‘लभ’ मा ओतप्रोत हुन्छन् । कीर्तिपुरमा नेवाः समुदायको पहिचानसँग नाता जोड्छन्, भरतपुरमा आफ्नै बाल्यकालमा विलीन हुन्छन् । आफ्नै वाचाप्रतिको जवाफदेहिता बिर्सिएर गोरखा पुगेपछि माओको उत्तरार्द्ध सम्झिएर भावुक हुन्छन् ।

दाहालले निर्वाचन क्षेत्र बदल्नुको कारणबारे जे–जस्ता तर्क गरे पनि खासमा उनी जित सुनिश्चित भएको ठाउँ खोज्दै हिँडेका हुन् भन्ने मतदाताहरूको भनाइ छ । यस्तो अवस्था किन आउँछ भने उनी आफूले चुनावमा गरेका वाचा भुल्छन्, तर मतदाताले सम्झिएका होलान् भनेर डराउँछन्, त्यसैले नयाँ मन्त्र लिएर नयाँ क्षेत्र पुग्छन् ।

०६४ को पहिलो संविधानसभा निर्वाचन उनका लागि धेरै सुविधाजनक थियो किनकि सशस्त्र द्वन्द्वको ‘इपिसेन्टर’ रोल्पाबाट उम्मेदवार बनेका थिए । राजनीतिक माहोल बनाउन उनी काठमाडौं–१० मा पनि उठेका थिए । ०६४ चैत २८ को चुनावका लागि उम्मेदवारी दिएपछि चैत २ मा दाहालले लिबाङमा भएको पहिलो चुनावी सभालाई सम्बोधन गरेका थिए । त्यसपछि जिल्लामा भएका हरेक चुनावी सभामा उनी नयाँ विचार र नयाँ नेतृत्वसहित मुलुक बनाउनुपर्ने भएकाले सशस्त्र युद्धलाई विश्राम गरेर माओवादी शान्ति प्रक्रियामा आएको बताउँथे । ‘रोल्पालाई जनयुद्ध र परिवर्तनको आधारभूमि तथा काठमाडौंलाई जनक्रान्तिको केन्द्र’ मान्नुपर्ने बताउँथे । उनको भनाइ थियो, ‘जनता गरिब हुनुमा राज्य व्यवस्था र नेतृत्वको जिम्मेवारी छ । १० वर्ष युद्ध लड्यौं, अबको १० वर्षमा आर्थिक क्रान्ति हुन्छ, त्यसको नेतृत्व हामी गर्छौं ।’

चुनावमा दाहाल रोल्पाका प्रायः सबै क्षेत्र डुले । सशस्त्र द्वन्द्वका क्रममा माओवादीबाट ११ र राज्यपक्षबाट ६२ जना मारिएको जेलबाङ पनि पुगे । प्रत्येक चुनावी भाषणमा दाहाल आफूले रोल्पालाई चुनावी क्षेत्र बनाउनुको विशेष कारण रहेको बताउँथे । ‘१० वर्षसम्मको युद्धले ल्याएको क्षति पुर्न भौतिक विकास भित्र्याउने जिम्मा मेरो हो, म पूरा गर्छु,’ उनको बचन थियो । द्वन्द्वमा जिल्लाका करिब एक हजारले ज्यान गुमाएको शोक सँगालेर बसेका रोल्पाली दाहालको भाषणबाट प्रभावित देखिन्थे ।

चुनावी प्रचारमा हिँडेका दाहाल सदरमुकामदेखि माडीचौर जाने क्रममा माडीखोला तार्न रोल्पाका तत्कालीन पार्टी उपाध्यक्ष ऋषिराम रोकाले पिठ्युँ थापेका थिए । दाहाल चुनावमा एमालेका शान्तकुमार वलीले भन्दा २८ हजार बढी मत ल्याएर विजयी भए ।

डेढ दशकअघि दाहाललाई पिठ्युँमा बोकेर खोला तार्ने रोका पनि दाहाल रोल्पाबाट टाढा हँॅदै गएको भन्दै दुःखमनाउ गर्छन् । ‘उहाँ रोल्पालीको मतबाटै प्रधानमन्त्री बन्नुभएको हो । उहाँले विकास, संक्रमणकालीन न्याय र रोजगारी दिएर रोल्पा र यहाँका जनतालाई साथ दिन सक्नुहुन्थ्यो तर त्यसो भएन,’ उनी भन्छन् । १० वर्षको सशस्त्र द्वन्द्वमा रोल्पालाई मुख्य केन्द्र बनाएका दाहालले सुखसुविधा पाएपछि भुलेको स्थानीय अर्जुन डाँगीको टिप्पणी छ । ‘नेतृत्व सुखसुविधामा रमाउँदै गयो, रोल्पा रुकुमका जनताले विगत भुल्न सक्ने अवस्था रहेन । त्यसैले पार्टी टुक्रिँदै गयो,’ उनले भने ।

०६४ को त्यही निर्वाचनमा कांग्रेसका राजेन्द्रकुमार केसीलाई १३ हजार मतान्तरले हराउँदै दाहाल काठमाडौं–१० बाट पनि निर्वाचित भए । तर, तत्कालीन व्यवस्थाअनुसार दुई क्षेत्रबाट प्रतिस्पर्धा गर्न पाए पनि एउटा क्षेत्रको मात्र जनप्रतिनिधि बन्न पाइने व्यवस्थाअनुसार दाहालले रोल्पा–२ बाट राजीनामा दिए । उपनिर्वाचनमा माओवादीकै सन्तोष बुढामगर विजयी भए । त्यसपछि दाहालको राजनीतिबाट रोल्पा बिस्तारै ओझेल पर्दै गयो । उनले भनेअनुसार त्यहाँको भौतिक विकासले ‘छलाङ’ मार्ने वाचा कथामा सीमित रह्यो ।

स्थानीय कार्यकर्ताका अनुसार दाहाल १५ वर्षमा दाहाल करिब १० पटक रोल्पा पुगेका छन् । प्रायः हेलिकोप्टरमा आउने उनी थबाङ, घर्तीगाउँ, लिबाङ, राङ्सी र दहवनमा रात बिताउँछन् । उनले लिबाङमा सहिद स्मृति प्रतिष्ठान, थबाङमा ट्रफल खेती, राङ्सीमा युद्ध स्मृति घर, दहवनमा लडाकु स्मृति पार्कलगायतको उद्घाटन पनि गरे । दाहाल पछिल्लो पटक स्थानीय निर्वाचनका बेला चुनावी सभालाई सम्बोधन गत चैत १४ मा रोल्पा आएका थिए । उनले त्यति बेला रोल्पा नगरपालिकाले सातदोबाटोमा बनाएको ‘जनयुद्ध भ्यु टावर’ उद्घाटन गरेका थिए ।

०६४ को चुनावपछि बनेको दाहाल नेतृत्वको सरकारले माओवादी सशस्त्र द्वन्द्वपछि मारिएकाहरूको स्मृतिमा दाङको घोराहीदेखि रोल्पा हुँदै रुकुम पूर्वको हुकाम मैकोटसम्म सडकको नाम ‘सहिद मार्ग’ राख्ने र स्तरोन्नति गर्ने योजना घोषणा गरेको थियो । करिब २ सय २० किलोमिटर लामो यस सडक अझै अधुरो छ । घोराहीदेखि रोल्पाको होलेरीसम्म करिब ३० किलोमिटर कालोपत्र गरिए पनि सरकारलाई हस्तान्तरण नहुँॅदै भत्किएको छ । लिबाङस्थित सहिद मार्ग कार्यालयका प्रमुख इन्जिनियर पवन भट्टराई भन्छन्, ‘सहिदमार्गमा हालसम्म २ अर्ब २५ करोड रुपैयाँ खर्च भइसकेको छ । मैकोटमा १७ किलोमिटर ट्र्याक खन्नै बाँकी छ ।’

काठमाडौं–१० को चुनावी दौडमा दाहालले त्रिभुवन विश्वविद्यालयले भोगचलन गरेको जमिनको मुआब्जा दिलाउनेदेखि बाहिरी चक्रपथ र स्थानीय सडक निर्माण, सम्पदाहरूको संरक्षण तथा कीर्तिपुर सहरको खानेपानी व्यवस्थापनसम्मको आश्वासन बाँडेका थिए । १५ वर्षपछि पनि यी मुद्दा ज्युँका त्युँ छन् । कीर्तिपुर नयाँबजारस्थित लोकतान्त्रिक चोकको भत्केको सडक देखाउँदै ६४ वर्षीय लक्ष्मीबहादुर महर्जन भन्छन्, ‘नेताको बोली र विश्वसनीयता त यो सडक हेरेरै थाहा हुन्छ, होइन र !’

कीर्तिपुर नगरपालिका–१ का निवर्तमान वडाध्यक्ष हर्ष महर्जनलाई डेढ दशकअघिको संसदीय निर्वाचनका क्रममा दाहालले पिउने पानीको व्यवस्था मिलाउने भाषण गरेको अहिले पनि याद छ तर अहिले पनि कीर्तिपुरवासीलाई पिउने पानी सहज छैन । महर्जन भन्छन्, ‘उहाँ स्थानीय होइन, टुरिस्ट बनेर चुनावमा उठ्न आउनुभयो/जानुभयो ।’

खासमा ०६४ को निर्वाचनपछि प्रधानमन्त्री बन्ने र बनाउने खेलमा लागेका दाहालले त्यही पर कीर्तिपुर गएर मतदाता भेट्ने फुर्सद निकाल्न सकेनन् । ०७० को निर्वाचनमा पनि मेची–महाकाली अभियान सकेर धनगढीबाट काठमाडौं आएका दाहाल प्रचारको अन्तिम दिन हेलिकोप्टरबाट कीर्तिपुरमा उत्रिएपछि मतदाता आक्रोशित भएका थिए ।

०६४ मा पराजय भोगेका कांग्रेसका केसीले ०७० को संविधानसभा निर्वाचनमा भने दाहालसँग बदला लिए । खासमा केसी मात्र होइन, एमालेका सुरेन्द्र मानन्धरभन्दा पनि पछि परेका दाहाल कीर्तिपुरमा तेस्रो भएका थिए । ०७४ मा पनि दोहोरिएका केसी आसन्न निर्वाचनमा पनि उम्मेदवार छन् । ‘निर्वाचन जितेपछि क्षेत्र नफर्कनु, आफूले गरेका प्रतिबद्धता पूरा नगर्नु र स्वयं दाहालको व्यक्तित्व घट्नुजस्ता कारणले उहाँ दोस्रो पटक विजयी हुन सक्नुभएन,’ केसी भन्छन् ।

दोस्रो संविधानसभा निर्वाचनमा दाहालले काठमाडौं–१० र सिरहा–५ बाट उम्मेदवारी दिएका थिए । अध्यक्ष दाहाल आउन नभ्याउने भएपछि सिरहाका रामचन्द्र महतोले वारेस मनोनयन दर्ता गराइदिएका थिए । उनै महतो यसैसाता सिरहाको चोहर्वा चोकको चिया पसलमा गफिरहेको अवस्थामा भेटिए । माओवादीको प्रदेश समिति सदस्य महतोका अनुसार अध्यक्ष दाहालले त्यतिबेला चुनावका नाममा जम्मा चार दिन मात्रै सिरहाका लागि खर्चेका थिए । दाहालले ०७० असोज २५ मा निर्वाचन क्षेत्रस्तरीय कार्यालय उद्घाटन गरेको र कात्तिक ८ देखि १० सम्म निर्वाचन क्षेत्रमा पर्ने साविकका १६ मध्ये ९ गाविसमा घरदैलो गरेको पनि महतोले सुनाए ।

घरदैलोका क्रममा दाहालले सिरहाका जनताको तागत, मधेस र पहाडको शक्तिसहितको मतले उत्पीडित, दलित, मधेसी, जनजातिको हकहित गर्ने संविधान नबनुन्जेलसम्म र विकासको पूर्वाधार नबन्दासम्म सिरहा नछोड्ने प्रतिबद्धता पनि गरे । दाहालको अनुपस्थितिमा जिल्लाका नेता विश्वनाथ साह, अजयशंकर नायक, कृष्णकुमार लामा, रामचन्द्र महतोलगायतले चुनावी मोर्चा सम्हाले । विवादास्पद मतगणनामा दाहालले ९ सय २१ मतान्तरले एमालेका लीलानाथ श्रेष्ठलाई हराए ।

उक्त पराजयलाई उदाहरण दिँदै माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य मुकुन्द घिमिरे कुनै पनि उम्मेदवार सकेसम्म स्थानीय व्यक्ति नै हुनुपर्ने बताउँछन् । ‘जनताको दैनिक जीवनमा जोडिन नसक्दा दाहाल ०७० को निर्वाचनमा पराजित हुनुभयो,’ सोही क्षेत्रको माओवादी निर्वाचन समितिका संयोजकसमेत रहेका उनी भन्छन्, ‘स–साना कार्यक्रममा पनि सहभागी जनाउन नसक्दा मतदाताले अपनत्व महसुस गर्न सक्दैनन् ।’

सिरहाका माओवादी नेताहरू जिल्लामा दाहालले ठूला विकासका परियोजना पारिदिएको दाबी गर्छन् । उनीहरू खानेपानीको अभाव टार्न मुक्सार, जमदहदेखि बन्दीपुरसम्म १५ डिप बोरिङ गरिएको, ०७२ मा मिर्चैया बजार खानेपानी तथा ढल निकासका लागि एसियाली विकास बैंकको सहयोगमा ५६ करोड रुपैयाँ निकासा गराएकोमा अध्यक्ष दाहाललाई धन्यवाद दिन्छन् । चोहर्वा जनता माविलाई ७ करोड र मिर्चैयास्थित मोहन माविलाई ५ करोड बजेट उपलब्ध गराएर पूर्वाधार, प्रविधियुक्त नमुना विद्यालय निर्माणमा पनि दाहालले योगदान गरेको उनीहरू बताउँछन् ।

कृषि सिँचाइका लागि कमला पूर्वी नहर विस्तारका लागि ४ करोड बजेट छुट्याउने कामदेखि भूमिहीन, सुकुम्बासी, दलित समुदायका लागि दलित बस्तीमा २५ वटा सामुदायिक भवन निर्माणका कामसम्म दाहालले गरेको माओवादीका स्थानीय नेता तथा केही मतदाता बताउँछन् । ‘झुपडीमा सबै जना सुत्न सकस हुन्थ्यो, अझ पाहुना आउँदा घरमा सुताउन गाह्रो थियो,’ धरमपुरकी बुधनी सदाय मुसहरले भनिन्, ‘टोलमा सामुदायिक भवन बनाएर पाहुना राख्न सजिलो भयो तर काम नहुँदा छाक टार्ने समस्या छ ।’

दाहाल चुनावपछि हरेक २ देखि ३ महिनामा सिरहा पुगिरहन्थे । ०७३ साउनमा प्रधानमन्त्री भएपछि भने उनको भ्रमण पातलियो । पछिल्लो पटक ०७८ चैत १५ मा दाहाल सिरहाको मिर्चैयामा सहिद स्मारक उद्घाटन गर्न पुगेका थिए । ०७४ मा चितवन–३ बाट चुनाव लडेपछि भने दाहालले सिरहालाई चटक्कै बिर्सिएको लक्ष्मीनियाँका स्थानीय चन्देश्वर यादवले गुनासो गरे । नौ वर्षअघि दाहाललाई चुनाव जिताउन सक्रिय भएर होमिएका रामचन्द्रले भने, ‘जनतामा ठूलै आशा थियो तर सोचेजस्तो हुन सकेन ।’

संविधानसभाबाट संविधान निर्माणपछिको सुरक्षित क्षेत्र खोज्दै दाहाल चितवन–३ पुगे । दाहाल परिवार ०१९ सालमा कास्कीबाट चितवन बसाइँ सरेको हो । एमालेसँगको चुनावी गठबन्धनको बलमा दाहाल निकटतम प्रतिस्पर्धी राप्रपाका विक्रम पाण्डेले भन्दा करिब १० हजार बढी मत ल्याएर विजयी भए । दाहालको विजयपछि धेरैले चितवनमा विकासको लहर छाउने अपेक्षा गरेका थिए । नगरून् पनि किन, उनले चुनावी घोषणापत्रदेखि प्रत्येक भाषणमा चितवनको अनुहार बदल्ने आश्वासनहरू बाँडेका थिए । त्यतिबेला क्षेत्र ३ को प्रचारप्रसार समितिले दाहालको नाममा बाँडेको पर्चामा लेखिएको छ, ‘प्रचण्ड हाम्रो माझबाट निर्वाचन लड्नु हाम्रा लागि समेत गौरवको विषय हो ।’

दाहालको त्यतिबेलाको घोषणापत्रमा जिल्लाका सातै स्थानीय तहलाई एकीकरण गरी ‘चितवन मेट्रो सिटी’ बनाउने प्रतिबद्धता थियो । माडीलाई मणि बनाउनेदेखि भरतपुर हुँदै माडी जान चितवन राष्ट्रिय निकुञ्जको १० किलोमिटर जंगल छिचोल्न सुरुङमार्ग वा आकाशेमार्ग बनाउने आश्वासन पनि दिएका थिए । दाहालले घोषणापत्रमा नवलपुर खण्डसँग जोडेर समग्र पश्चिम चितवनको विकास गर्न नारायणी नदीमा तीनवटा पुल बनाउने बताएका थिए । उनले ‘प्रचण्ड आवास योजना’ अघि सार्दै भूमिहीन सुकुम्बासीलाई राख्न बहुतले आधुनिक आवासगृह बनाउने आश्वासन पनि बाँडेका थिए । तर, यसबीचमा भरतपुरका केही सुकुम्बासीलाई पुर्जा बाँड्नेबाहेक काम भएन ।

दाहालले पहिलो स्थानीय निर्वाचनमा कांग्रेससँग तालमेल गरेर छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा जिताए । लगत्तै संसदीय निर्वाचनमा एमालेसँग गठबन्धन गरेर आफू निर्वाचित भए । तर पाँच वर्षपछि फेरि कांग्रेससँग गठबन्धन गरेर रेनु महानगर प्रमुखमा दोहोरिएकी छन् । तर, अध्यक्ष दाहालकै नाम जोडिएको मंगलपुरदेखि मेघौलीको तेलौलीसम्म ‘प्रचण्ड मार्ग’ को निर्माणसमेत उनको ५ वर्षे कार्यकालमा सकिएन । सहरी विकास तथा भवन कार्यालय भरतपुरका प्रमुख प्रकाश अर्यालका अनुसार प्रचण्ड मार्गसहित ६५ किलोमिटर रिङरोड र विभिन्न लिंक रोड निर्माण गर्न ०७५ असार मसान्तमा शिलान्यास भएको थियो । तीमध्ये हाल ४७ किलोमिटर सडक कालोपत्र भएको छ । प्रचण्ड मार्गको २० किलोमिटरमध्ये भरतपुर–१५ महेन्द्र चोकदेखि पश्चिम पाँच किलोमिटर सडक पिच गर्न बाँकी छ । चक्रपथ, सुरुङमार्ग र आकाशेमार्गका वाचा बतासमै हराएका छन् ।

चितवनमा शिलान्यास भएका विकास योजना बनिनसक्दै दाहाल गोरखा पुगेका छन् । स्थानीय माओवादी पंक्तिको आशा थियो– दाहालले क्षेत्र ३ बाट जितेपछि र छोरी रेनु महानगरको प्रमुख बनेपछि माओवादी सिंगो जिल्लामै बलियो रहनेछ । तर यस्तो आकलन सही सावित भएन । स्थानीय चुनावमा सत्तारूढ कांग्रेससँग वडा तहसम्मै गठबन्धन गरेर चुनावमा होमिए पनि

माओवादीले माडीको प्रमुख पद गुमायो । अघिल्लो स्थानीय तहभन्दा बढी कालिका र रत्ननगरमा वडाध्यक्ष पद जितेर माओवादीले थोरै सन्तोषको सास फेर्न सक्यो ।

माओवादी केन्द्र चितवनको जिल्ला समन्वय समितिका संयोजक रामचन्द्र अधिकारी भने दाहाल चितवनका सांसद हुँदा पूर्वाधारको क्षेत्रमा जिल्लाले फड्को मारेको दाबी गर्छन् । उनले दाहालमार्फत पाँच वर्षमा चितवनमा ४२ अर्ब रुपैयाँ बराबरका आयोजना आएको सुनाए ।

०३५ सालमा नेता दाहालसँगै एउटै पार्टीमा चितवनमा राजनीति सुरु गरेका र हाल राजनीतिभन्दा साहित्य र समाज अध्ययनमा लागेका डिल्लीराम पोखरेल (डीआर) माओवादी अध्यक्ष दाहालको काम गराइबाट सन्तुष्ट छैनन् । ‘सडक बनाएको भनेका छन्, तटबन्धको कुरा पनि गर्छन् । अरू काम पनि भयो भन्छन् तर जितेपछि त्यत्रो ठूलो नेताले यति काम त गर्नैपर्‍यो नि । मेयर पनि उनैकी छोरी हुन् तर पूर्वाधारमा जिल्लाले फड्को नै मार्ने खालका योजनाहरू के पूरा भए ? या के आए,’ पोखरेल प्रश्न गरे । त्यत्रो क्रान्तिकारी नेता आएपछि चितवनको वैचारिक सांस्कृतिक क्षेत्रमा प्रभावकारी काम गर्नुपर्नेमा यसमा फिटिक्कै केही नभएको उनले बताए ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा–२ बाट उम्मेदवारी दिएका दाहालले यसलाई चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुङ चिङकाङसाङ फर्किएको प्रसंगसँग तुलना गरेका छन् । गोरखा सदरमुकामस्थित पाटेचौरमा गत साता आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा माओत्सेतुङ छापामार युद्घ सुरु भएको चिङकाङसाङ फिर्तीको प्रसंग निकाल्दा उनी भक्कानिएका थिए । माओवादीले १० वर्षे सशस्त्र द्वन्द्वको तयारीका क्रममा गोरखालाई पहिलो आधारभूमि बनाएको थियो । ‘माओ पार्टी, सरकार र देशका समस्या, चारैतिरको घेराबन्दी, रुससित महाविवाद, उता साम्राज्यवादसँगको घेराबन्दी सबैलाई तोड्नुपर्ने आवश्यकताका बीच चिङकाङसाङ जानुभयो, जहाँबाट छापामार युद्ध सुरु भएको थियो, म पनि फेरि गोरखा फर्किआएको छ,’ दाहालले भनेका थिए । कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्