
नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । असन र भोटाहिटी, न्यूरोड लगायत बजारमा तिहारको सामग्री किन्नेको बाक्लो भिड लाग्न थालेको हो ।
तिहारमा विशेषगरी भाइमसला, भाडाकुँडा, माला, टोपी लगायत घर सजावटका सामाग्रीहरु अत्यधिक खरिद हुने गरेको छ ।
कोही भाइमसला किन्नमै व्यस्त देखिन्छन् भने कोही भाडाकुँडा छान्नमा व्यस्त । व्यापारीहरुलाई सामान देखाएरै भ्याइनभ्याइ छ ।
उपभोक्ताहरु गत वर्षको तुलनामा अत्यधिक मूल्य वृद्धि भएको गुनासो गरिरहेका छन् । अघिल्लो वर्षको तुलनामा प्राय सबै सामग्रीको मूल्य बढेको व्यापारीहरु पनि स्वीकार्छन् ।

कोहीलाई बेचेरै भ्याइनभ्याइ छ भने कोही अघिल्लो वर्षको तुलनामा एक छेउ पनि व्यापार भएको बताउँछन् ।
असनमा माला बेच्दै गरेकी मिरा कार्की (माली) पनि गत वर्षको तुलनामा यस वर्ष व्यापार नै नभएको बताउँछिन् । उनी भन्छिन्, ‘पहिलापहिला राम्रो व्यापार हुन्थ्यो । अहिलेको वर्ष खासै व्यापार नै छैन । मूल्य बढेर होला अचेल व्यापार निकै कम छ ।’
भासमसला किन्न असन पुगेकी रस्मिता गुरुङ पनि यसवर्ष हरेक सामानको मूल्य छोइनसक्नु बनेको गुनासो गर्छिन् । उनी भन्छिन्, ‘महंगीको कुरै नगर्नुस् । केही किनीसाध्य नै छैन । जे छोयो त्यही महंगो ।’
हरेक वर्ष सामान किन्न असन नै पुग्ने उनले यस वर्ष अघिल्लो वर्षको तुलनामा महंगी बढेको गुनासो गर्छिन् ।

भोटाहिटीमा भाडा पसल सञ्चालन गर्दै आएका सुरेश मानन्धरको पनि व्यापार घटेप्रति चिन्तित छन् । तामाजन्य भाडाकुँडाका व्यवसाय सञ्चालन गर्दै आएका उनलाई यस वर्षको चाडबाडले खासै खुशी बनाउन सकेको छैन् ।
असनमै भाइमसला बेच्दै गरेकी सुमित्रा डंगोललाई भने भ्याइनभ्याइ छ । उनी भन्छिन्, ‘व्यापार हुने सिजन नै यही हो सदाको तुलनामा ब्यापार बढेको छ । हिजोआज किनमेल गर्नेहरु बाक्लिन थालेका छन् ।’
पहिलाको तुलनामा महंगी बढेको डंगोल पनि स्वीकार्छिन् ।
उनी थप्छिन्, ‘मूल्य भने पहिलाको तुलनामा अलिक बढेर आएको छ । मूल्य बढे नि किन्नै पर्ने बाध्यता छ मान्छेलाई के गर्नु । हामीले बढाएर बेचेका हैनौँ क्यारे । होलसेल बाटै बढेर आएको छ ।’
तस्बिरमा हेर्नुहोस् तिहारको चहलपहल :-









