आयात प्रतिबन्धले पनि बढाउन सकेन विदेशी मुद्रा सञ्चिति

184
0
Share:

केही महँगा वस्तुको आयात प्रतिबन्ध कायमै राखिएको भए पनि विदेशी मुद्रा सञ्चिति बढ्न सकेको छैन् । सरकारले पाँच महिनादेखि तीनसय अमेरिकी डलरमाथिका मोबाइल, कार, जिप, भ्यान, १५० सीसीमाथिका मोटरसाइकल तथा विदेशी तयारी मदिराको आयातमा प्रतिबन्ध लगाएको भएपनि विदेशी मुद्रा सञ्चिति बढ्नुको साटो घट्ने क्रम नरोकिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार दुई महिनामै २६ अर्ब ६४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति घटेको छ । गत असार मसान्तसम्म मुलुकसँग कुल १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति रहेकोमा भदौ मसान्तसम्म आउँदा थप २.२ प्रतिशतले कमी आई ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँमा झरेको छ ।

२ महिनामा अमेरिकी डलरमा यस्तो सञ्चिति २ प्रतिशत घटेको छ । असार मसान्तसम्म ९ अर्ब ५४ करोड डलर रहेको सञ्चिति भदौ मसान्तसम्म ९ अर्ब ३५ करोड कायम भएको छ । हाल कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १० खर्ब ५१ अर्ब ५३ करोड छ भने अन्य बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ३७ अर्ब ६३ करोड कायम भएको छ ।

भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ । २०७८ असारदेखि नै विदेशी मुद्रा सञ्चिति घटिरहेको छ । २०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो ।

कमेन्ट गर्नुहोस्