
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ। कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गर्न लागेको हो।
कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको नबिल फ्लेक्सी क्याप फन्डका इकाइहरु बिक्री खुला गरिने भएको छ। जसअनुसार नबिल इनभेस्टमेन्ट बैंकिङले १० रुपैयाँ अंकित दरका कुल ७ करोड ७५ लाख इकाइ निष्काशन गर्नेछ।
जसमध्ये न्यूनतम १ करोड १२ लाख वा खुला बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबन्धक र योजना व्यवस्थापकका लागि छुट्याइएको छ। जसमध्ये कोष प्रबन्धकलाई १४ प्रतिशत र योजना व्यवस्थापकलाई रहेको छ। कम्पनीले बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई निष्काशन गर्नेछ। सोमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गर्न लागेको हो।
यो योजनामा लगानीकर्ताहरुले न्यूनतम १०० इकाइदेखि अधिकतममा ७५ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिने व्यवस्था गरिएको छ।
यो फन्डको निष्कासन बन्द छिटोमा कात्तिक २७ गते हुनेछ। मागअनुसार आवेदन नपरेको खण्डमा मंसिर ७ गते बैंकिङ समयपछि बिक्री बन्द गरिनेछ।
यो खुलामुखी योजना हो। यो योजनालाई नेपाल धितोपत्र बोर्डले गत भदौ २७ गते निष्कासनको अनुमति दिएको थियो।








