विश्वकपमा सर्वाधिक ‘म्यान अफ द म्याच’ जित्ने पाँच खेलाडी

Share:

 

विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै देशलाई उपाधि दिलाउने हरेक खेलाडीको सपना रहेको हुन्छ । यो सपना कमै खेलाडीले मात्र पूरा गर्छन्  । आगामीम मङ्सिरमा हुने फिफा विश्वकप फुटबलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै देशलाई उपाधि दिलाउने खेलाडीको लक्ष्य छ । यसपालिको विश्वकप फुटबल मङ्सिर ४ देखि कतारमा आयोजना हुँदैछ ।

विश्वकपको मिति नजिकिएसँगै फुटबल समर्थक उत्सुक छन् । उनीहरू विश्वकप २०२२ को उपाधि जित्ने टोलीको अनुमानसमेत गर्न थालेका छन् । साथै, समर्थकले विगतमा टिम र खेलाडीले गरेको प्रदर्शनको बारेमा पनि चासो राख्न थालेका छन् । साथै समर्थकको चासोलाई मध्यनजर गर्दै हालसम्म फिफा विश्वकपको एक संस्करणमा सर्वाधिक ‘म्यान अफ द म्याच’ अवार्ड जित्ने पाँच खेलाडीको चर्चा गर्दैछौँ :

१. वेस्ले श्नाइडेर

यो सूचीको शीर्ष स्थानमा नेदरल्याण्ड्सका वेस्ले श्नाइडेरको नाम आउँछ । सन् २०१० को विश्वकपमा उनको प्रदर्शन निकै उत्कृष्ट रह्यो । सो विश्वकपमा श्नाइडेरले सर्वाधिक पाँच गोल गरेका थिए । उनीसँगै थोमस मुलर, डेविड भिला र डिएगो फोर्लनले पनि पाँच/पाँच गोल गरेका थिए ।

२०१० को विश्वकपको फाइनलमा नेदरल्याण्ड्सलाई पुर्याउन श्नाइडेरको भूमिका अहम् रहेको थियो । उपाधि जिताउन नसके पनि उनले सेमिफाइनलमा उरुग्वेविरुद्ध एक गोल गरेका थिए । उनले उक्त विश्वकपमा सर्वाधिक चारपटक ‘म्यान अफ द म्याच’ अवार्ड प्राप्त गरेका थिए । विश्वकप २०१० को संस्करण दक्षिण अफ्रिकामा भएको थियो ।

२. लिओनल मेस्सी

फिफा विश्वकपको एक संस्करणमा सर्वाधिक ‘म्यान अफ द म्याच’ अवार्ड जित्ने मामलामा अर्जेन्टिनाका स्टार लिओनल मेस्सी दोस्रो स्थानमा छन् । उनले सन् २०१४ मा भएको विश्वकपमा चार खेलमा यो अवार्ड प्राप्त गरेका थिए । विश्वकप उपाधि जिताउन नसकेन पनि मेस्सीले टिमका लागि भने उत्कृष्ट प्रदर्शन गरे ।

विश्वकप २०१४ मा उनले चार गोल गरेका थिए । उनी सो संस्करणमा सर्वाधिक गोल गर्ने मामलामा तेस्रो स्थानमा थिए । ब्राजिलमा भएको २०१४ को विश्वकपमा अर्जेन्टिना उपविजेता बनेको थियो । फाइनलमा ऊ जर्मनीसँग १–० ले पराजित भएको थियो ।

३. रिभाल्डो

ब्राजिलका पूर्वफुटबलर रिभाल्डोले सन् २००२ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे । उनले सो विश्वकपमा ५ गोल गरेका थिए । ब्राजिललाई विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका रिभाल्डोले २००२ को विश्वकपको तीन खेलमा त ‘म्यान अफ द म्याच’ अवार्ड नै जिते । सो विश्वकपको फाइनलमा जर्मनीलाई २–० ले हराउँदै ब्राजिलले उपाधि जितेको थियो । उक्त विश्वकपमा दक्षिण कोरिया र जापानले संयुक्तरूपमा आयोजना गरेका थिए ।

४. एन्ड्रिया पिर्लो

यो सूचीको चौथो स्थानमा इटालीका पूर्वफुटबलर एन्ड्रिया पिर्लोको नाम आउँछ । उनले सन् २००६ मा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । इटालीलाई विश्वकप जिताउन अहम् भूमिका खेल्नेमध्ये एक एन्ड्रियाले सो संस्करणमा एक गोल गरेका थिए । गोल कम गरे पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो । सो विश्वकपमा एन्ड्रियाले तीन खेलमा ‘म्यान अफ द म्याच’ अवार्ड जितेका थिए ।

५. एन्टोनी ग्रिजम्यान

सन् २०१८ को फिफा विश्वकप फ्रान्सलाई जिताउन एन्टोनी ग्रिजम्यानको भूमिका अहम् रह्यो । उनले सो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे । रुसमा भएको उक्त विश्वकपमा ग्रिजम्यान सर्वाधिक गोल गर्ने मामलामा दोस्रो स्थानमा रहे । उनले सो विश्वकपमा ४ गोल गरेका थिए । ग्रिजम्यान विश्वकप २०१८ मा तीन खेलमा ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । सो विश्वकपमा क्रोसियालाई ४–२ ले हराउँदै फ्रान्सले उपाधि जितेको थियो ।

कमेन्ट गर्नुहोस्