तपस्वी भनिएका बम्जन बिरुद्ध थप दुइ उजुरी

Share:

काठमाडौँ । ४ जना व्यक्ति बेपत्ता बनाएको तथा एक जनालाई जबर्जस्ती करणी गरेको अभियोगमा काठमाडौँ बाट पक्राउ परि महोत्तरी कारागारमा पुर्पक्षमा रहेका ‘तपस्वी’ रामबहादुर बम्जनविरुद्धको उजुरी बढ्दो क्रममा देखिएको छ ।

हालै बम्जन बिरुद्ध प्रहरीमा थप दुईवटा किटानी जाहेरी परेको छ। जिल्ला प्रहरी कार्यालय बारामा एकजनालाई बेपत्ता बनाएको र अर्का व्यक्तिको हत्या गरेको आरोपमा जाहेरी दर्ता भएको प्रहरी कार्यालय बाराले जनाएको छ।

बम्जनको निजगढ नगरपालिका–१२ स्थित खुमजोरमा रहेको आश्रमबाट सिमरा उपमहानगरपालिका–१५ वडहर्वाका ३४ वर्षीय सुरेशकुमार आलेलाई अपहरण पछि बेपत्ता बनाएको भन्दै जाहेरी परेको हो ।

अर्को जाहेरी सर्लाहीको बागमती नगरपालिका–१२ घर भएकी रिता बोटको हत्या गरेको आरोपमा रहेको छ । जाहेरीकर्ताले बोटको हत्या बाराको आश्रममा गरेको उल्लेख गरेका छन् ।

जाहेरीकर्ताहरुले यस अघि पनि २०७५ सालमा खोजतलासका लागि निवेदन दिएकोमा यो पटक भने जिल्ला प्रहरी कार्यालय बारामा  किटानी जाहेरी दिएको कार्यालयले बताउदै सो सम्बन्धमा अनुसन्धान अघि बढाएको बताएको छ ।

कमेन्ट गर्नुहोस्