
काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुने २० सिटमध्ये राष्ट्रपतिबाट मनोनित हुने सिटका लागि पनि सत्तारुढ गठबन्धनका दलहरुबीच सहमति जुटेको छ । उक्त सिट राष्ट्रिय जनमोर्चालाई दिने गठबन्धनका दलहरुले सहमति गरेका छन् ।
स्रोतले जनाएअनुसार राष्ट्रपतिले मनोनित गर्ने सिटमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनित गर्ने सत्तारुढदलहरु बिच सहमति भएको हो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्यूठानबाट उम्मेदवार रहेकी पौडेल नेकपा एमालेका सूर्य थापासँग पराजित भएकी उम्मेदवार हुन् ।
राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा निर्वाचन मिति तोकिएको छ ।
सिट बाँडफाँटका लागि सत्तारुढ दलहरुको निरन्तर बस्दै आएको बैठकमा कांग्रेसले १०, माओवादी ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने प्रस्ताव रहेकोमा एकीकृत समाजवादीले ३ सिट पाउनुपर्ने अडान राखेका कारण सहमति भने हुन सकेको छैन ।







