एकदिनमै ८ अर्बको निक्षेप बैंक तथा वित्तीय संस्थामा

Share:

काठमाडाैं । ६० खर्ब माथिको निक्षेप संकलन बैंक तथा वित्तीय संस्थामा पुगेको छ । मंसिर २८ गतेसम्ममा नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६० खर्ब ३ अर्ब रुपैयाँ पुगेको हो।

मंसिर २७ गतेसम्ममा कुल निक्षेप ५९ खर्ब ९५ अर्ब रहेकोमा २८ गते ८ अर्ब रुपैयाँले बढेर ६० खर्ब माथि पुगेको हो। यो निक्षेप बैंक तथा वित्तीय संस्थामा हालसम्मकै उच्च हो।

राष्ट्र बैंकको तथ्याँकले यसमा वाणिज्य बैंकहरुको मात्रै कुल निक्षेप ५३ खर्ब १३ अर्ब रुपैयाँ रहेको देखाउछ। बैक तथा वित्तीय संस्थामा निक्षेप संकलन लगातार बढ्दो क्रममा छ। जसले गर्दा लगानी योग्य रकम निरन्तर बढ्दै गएको छ। गत विहीबारसम्ममा बैंकहरुको औसत सिडि रेशियो ८०.३६ प्रतिशतमा झरेको छ। यसअनुसार बैंकहरुमा अहिले साढे ५ खर्बभन्दा धेरै लगानी योग्य रकम थुप्रिएको देखिन्छ।

राष्ट्र बैंकको जानकारी अनुसार बिहीबारसम्ममा बैंकहरुको कर्जा लगानी पनि करिब ५० खर्ब रुपैयाँ पुगेको छ। बिहीबारसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४९ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ। यसमा वाणिज्य बैंकहरुको मात्रै लगानी ४४ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।

कमेन्ट गर्नुहोस्