
काठमाडौं । गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन् । गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्पको गएको थियो ।
त्यसयता रामिडाँडा र त्यसको आसपासमा परकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ११ः४७ बजेको भूकम्पपछि ४।० म्याग्निच्युडभन्दा माथिका ९ वटा परकम्प गइसकेको छन् ।
केन्द्रका अनुसार शुक्रबार यता साना ठूला गरी ३९७ वटा परकम्प गएका हुन् । यो सोमबार ४ः४० बजेसम्मको तथ्यांक हो । यसपछि पनि थुप्रै परकम्प गइसकेको केन्द्रले जनाएको छ। तर रेकर्ड गर्न बाँकी छ,” केन्द्रले बाह्रखरीसँग भन्यो, “आज बिहान रेकर्ड गर्नेछौँ ।”
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतले परकम्प जानेक्रम नरोकिएको बताएको छ । “हिजो ४ः४० बजेपछि पनि परकम्प गइरहेको छ । तर, आधिकारिक रुपमा रेकर्ड राख्न बाँकी छ,” केन्द्रले भन्यो, “कम्तीमा परकम्पको संख्या ४१० पुगेको हुनुपर्छ । हामी बिहान ८ बजेसम्म आधिकारिक तथ्यांक राख्ने छौँ ।”
शुक्रबारको भूकम्पमा जाजरकोट र रुकुम (पश्चिम)मा गरी १ सय ५३ जनाको मृत्यु भएको थियो । २५६ जना घाइते भएका छन् ।