
काभ्रेपलाञ्चोक । राजधानीबाट पुर्बिय क्षेत्र संग जोड्ने बि पी राजमार्ग बाट चिनी तस्करी हुने गरेको बताइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार विपी राजमार्ग भएर अवैधरूपमा चिनी राजधानी भित्रने गरेको भेटिएकोले उक्त राजमार्गमा अहिले नियमितरुपमा यातायातका साधन जाँच गरिरहेको उनले बताए ।
प्रहरीले यसअघि यही कात्तिक पहिलो साता सोही राजमार्गबाट राजस्व छली गरेर ल्याएको ९२ बोरा चिनी ट्रकबाट बरामद गरेको थियो । ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी र २८ बोरा धान बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो ।











