
काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको मुद्दामा आज (बिहीबार) निर्णय सुनाउने भएको छ ।
बुधबार नै सुनुवाइ सकिएपनि फैसला भने बिहिवार हुन लागेको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहीबार निर्णय सुनाउने जानकारी दिएको हो ।
गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि मंगलबार र बुधबार सुनुवाइ निर्धारण भएको थियो ।
गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढकाललाई आममाफी दिन सिफारिस गर्नुपर्नाको कारणसहितको सम्पूर्ण सक्कल मिसिल असोज २४ गतेभित्र अदालतमा प्रस्तुत गर्न आदेश दिएको थियो ।







