काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले सैनिक नियमावली, २०६९ को संशोधनप्रति चासो राखेका छन् । नेपाली सेनाको सहायक रथी, उपरथी बढुवा प्रक्रियाका लागि सैनिक नियमावली संशोधन हुन लागेको विषयमा प्रधानमन्त्री दाहालले चासो राखेका हुन् । माओवादी लडाकुबाट नेपाली सेनामा समायोजन भएर आएका यामबहादुर अधिकारीलाई ‘विशेष पद’ भन्दै तीन वर्ष म्याद थपेर सहायक रथीमै थमौती गरेपछि प्रधानमन्त्री दाहालले नियमावली संशोधनबारे जिज्ञासा राखेको एक उच्च सैनिक अधिकारीले बताए ।
‘सैनिक नियमावली संशोधन गर्दा त्यसबाट उत्पन्न हुने प्रतिक्रियाबारे चासो राख्नुभएको थियो,’ स्रोतले भन्यो । प्रधानमन्त्रीमा अधिकारीलाई बढुवा गर्ने तीव्र इच्छा देखिन्छ । ‘तर अहिलेलाई नियमावली बाधक भएकाले संशोधनतर्फ उहाँको ध्यान गएको हो,’ स्रोतले भन्यो ।
सहायक रथीबाट उपरथीमा बढुवा गर्दा नेसनल डिफेन्स कोर्स, रोयल कलेज अफ डिफेन्स स्टडिज, वार कलेज, डिफेन्स एन्ड स्ट्राटेजिक स्टडिज (नेसनल डिफेन्स युनिभर्सिटी) मध्ये कुनै एक तालिम गरेको हुनुपर्ने भनिएको छ । कम्तीमा एक वर्ष वाहिनी कमान्ड गरेको हुनुपर्ने पनि त्यसमा भनिएको छ । तर, नियमावलीको दफा ३८ को उपदफा १६ मा यस नियमावलीमा जुनसुकै कुरा लेखिए पनि यो उपनियम प्रारम्भ हुँदाको बखत गणपति तालिम प्राप्त गरिसकेको सेनानी माथिल्लो पदमा बढुवा गर्न योग्य मानिने भनिएको छ ।
नियमावलीमा स्टाफ कलेज गरेका तर तालिम नगरेका सहायक रथीहरूबाट ५ प्रतिशत ज्येष्ठता क्रमअनुसार बढुवा समितिले सिफारिस गर्ने प्रावधान छ । ‘पछि यही छिद्रको दुरूपयोग हुनेमा नेपाली सेनाभित्र ठुलो त्रास उत्पन्न भएको छ । ‘यदि उपरथीमा बढुवा गर्न नियमावली संशोधन भए सेनामा ठुलो संकट आउने देखिन्छ,’ सैनिक उच्च अधिकारीले भने। सैनिक नियमावलीअनुसार सहायक रथी पदमा बढुवा हुन २१ वर्ष र उपरथी पदमा बढुवा हुन २३ वर्ष पुग्नुपर्छ । अहिले सहायक रथीबाट उपरथीका लागि सन्तोषवल्लभ पौडेल, पवनकुमार घिमिरे, चोकबहादुर ढकाल, अनुपजंग थापा, मधुकर कार्कीै यामबहादुर अधिकारीलगायत छन् ।
उनीहरू एकैपटक बढुवा हुनेभन्दा पनि फरकफरक मितिमा बढुवा हुनेछन् । कात्तिक ११ गते अवकाश हुन लागेका बलाधिकृत रथी सरोजप्रताप राणा आइतबारबाट बिदामा बसिसकेका छन् । त्यस्तै अर्का रथी सीताराम खड्का पनि पुस ३ गते घर जाँदैछन् । उनीहरूले अवकाश पाएपछि प्रधानसेनापति प्रभुराम शर्माले ताराध्वज पाण्डे र अशोकराज सिग्देललाई बढुवा गर्नेछन् । यदि उनीहरूको बढुवा रोकिए सेनाको नेतृत्व नै खल्बलिनेछ ।
‘विगतमा नेपाल तारा पदवी पाउन लायक नोबेल शाह र रमेश थापा मगरलाई म्याद थप गर्नबाट रोकेर सैनिक सेवाबाटै हटाई योग्यता अपुग रहेकै अवस्थामा हालका सहायक रथी यामबहादुर अधिकारीलाई बढुवा गर्नु र अहिले पनि प्रधानमन्त्रीले सैनिक नियमावली संशोधनमा चासो राख्नुले सेनाभित्र त्रास उत्पन्न भएको छ,’ नेपाली सेनाका उच्च अधिकारीले भने ।
यही समयमा उपरथी सहदेव खड्का पनि अवकाशमा जाने भएकाले उपरथीमा रिक्त हुने पदको संख्या पनि बढ्दैछ । जसले गर्दा अझै बढी शंकाको लाभ दिएको स्रोतले जनाएको छ । यो समाचार आजको नागरिक देनिकमा प्रकाशित छ ।