
काठमाडौं । दोलखामा ४ किलो सुन बरामद भएको छ। चिनियाँ नाका बाट भित्र्याएको थप ४ किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
प्रहरीका अनुसार विगु गाउँपालिका-१, लामाबगरमा बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा आइतबार दिउँसो उक्त सुन बरामद भएको हो। सुन लुकाउने व्यक्ति फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाइ रहेको छ।
यसअघि विगु गाउपालिका-३, जामुनेबाट प्रहरीले चीनबाट अवैध रूपमा ल्याएको सुन बुधबार ४ किलो र शुक्रबार ३ किलो बरामद गरेको थियो। आइतबार थप ४ किलोसहित प्रहरीले यसबीच ११ किलो सुन बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दै जाँदा प्रहरीले थप सुन बरामद गरेको हो।
प्रहरीको सुक्ष्म अनुसन्धानले विस्तारै नाका खुल्न थालेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्दा सहज हुने अनुमानका आधारमा तस्करले वैकल्पिक मार्ग प्रयोग गर्न थालेको निष्कर्ष निकालेको प्रहरीले वैकल्पिक मार्गबाट आएको आठ किलो सुन बरामदसमेत गरिसकेको छ । यस्तै शुक्रबार रसुवाबाट एक किलो सुनसहित दुई जनालाई सिआइबीले नै पक्राउ गरेको प्रहरी प्रवक्ता ले जनाएका छन् ।
विमानस्थल हुँदै ल्याएको सुन र यी विभिन्न क्षेत्रमा बरामद भएको सुन प्रकरणको सम्बन्ध के छ भनेर अहिले प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ । पटकपटक विमानस्थल हुँदै सुन तस्करी भएका घटना बाहिरिरहेका बेला पछिल्ला केही घटनाक्रमले भने तस्करले विमानस्थलभन्दा वैकल्पिक मार्ग प्रयोग गरेर सुन तस्करी गरिरहेको पाइएको तथा ती घटनाको आपसी सम्बन्ध छ की छैन भनेर अनुसन्धान जारी रहेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ ।







