
काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले आज भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो।
जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ।
यसैगरी कम्पनीले कुल कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको यो आईपीओको निष्काशन बन्द छिटोमा भदौ २५ गते र ढिलोमा असोज ४ गते बैंकिङ समयपछि हुनेछ ।







