
काठमाडौं । विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार”को सेवालाई अब २४ घण्टै सञ्चालन गर्ने सरकारको निर्णय संगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारमा सो कार्यक्रमको सुरुवात गरेका छन् । सो सेवा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको छ।
नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा आजबाट एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ। गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ।
हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ।
हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापन गरिएको छ। त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारी खटाइएको छ।
हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन गर्ने व्यवस्था गरिएको छ।
गुनासोहरू सम्बोधनका निम्ति र्यापिड रेस्पोन्स टीम गठन गरी सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए, नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्ने बताइएको छ।







