गाईजात्रा मनाउने बिषयमा अन्यौल, कतै बिहिबार त कतै शुक्रबार मनाउने

Share:

काठमाडौं। चान्द्रमास अन्तर्गतको तिथि अनुसार मनाइने गरिएको गाइजात्रा पर्व यसपालि उक्त दिन तिथि जुधेपछि यो वर्ष काठमाडौं उपत्यकामा गाईजात्रा मनाइने बिषयमा भ्रम तथा अन्यौल उत्पन्न भएको छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने उल्लेख छ। यस वर्ष तिथिको घटबढका कारण दुई दिनपर्ने पर्व एकैदिन परेको समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए। उनका अनुसार रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइन्छ। पूर्णिमा तिथि रहेका बेला सूर्योदय भएको दिन रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व मनाउनुपर्ने भएकाले भदौ १४ गतेलाई निर्णय गरिएको प्रा डा भट्टराईले बताए।  भाद्रकृष्ण प्रतिपदाका दिन गाईजात्रा मनाइन्छ। भदौ १४ गते बिहान पूर्णिमा तिथि छ तर सोही दिनको बिहान ७:४९ बजेपछि भाद्र कृष्ण प्रतिपदा तिथि लाग्ने भएकाले गाईजात्रा (सापारु) पर्व पनि त्यसै दिन मनाउनुपर्ने निर्णय समितिले गरेको हो।

उपत्यकाभित्रका स्थानीय तह तथा सांस्कृतिक संस्थाले भने जनैपूर्णिमा र गाईजात्रा फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गरेका छन्। काठमाडौं उपत्यकाका नेवार बाहुल्य स्थानीय तहमा भने कतै छुट्टाछुट्टै र कतै भने एकै दिन जनैपूर्णिमा र गाईजात्रा मनाउने तयारी गरिएको छ।

भक्तपुर नगरपालिकाले सूचना नै प्रकाशन गरेर १३ गते जनैपूर्णिमा र १४ गते गाईजात्रा (सापारु) पर्व मनाउने निर्णय गरेको छ। नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले भक्तपुरस्थित तलेजु मन्दिरका मूलपुजारी र तान्त्रिकहरुको निर्णयका आधारमा यस्तो निर्णय गरिएको बताए।

त्यस्तै, मध्यपुर थिमि नगरपालिकामा यससम्बन्धी छलफल गरी पञ्चांग निर्णायक विकास समितिले गरेको निर्णय अनुसार भदौ १४ गते नै दुवै पर्व मनाउने निर्णय गरिएको शंखधर साख्वा प्रतिष्ठानका पूर्व अध्यक्ष श्याम मानन्धरले जानकारी दिए। नगर क्षेत्रमा भाद्रकृष्ण द्वितीयाका दिन मनाइने भैरव र नीलबाराहीको नाच भने भदौ १५ गते मनाउने निर्णय भएको उनले बताए।

ललितपुरका केही सांस्कृतिक संस्थाले १३ गते जनैपूर्णिमा र १४ गते गाईजात्रा पर्व मनाउने निर्णय गरेका छन्। पाटन क्षेत्रमा विशेषगरी क्वा बहाः अर्थात् हीरण्यवर्ण महाविहारले चाडपर्वसम्बन्धी निर्णय गर्ने गरेको छ।

काठमाडौंका केही सांस्कृतिक संस्थाले पनि भदौ १४ गते जनैपूर्णिमा र १५ गते गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय सार्वजनिक गरेका छन् भनि बिजमान्डू डट कमले समाचार लेखेको छ ।

कमेन्ट गर्नुहोस्