
काठमाडौँ । अन्ततः नेकपा एमाले को माग सम्बोधन भएको छ । यो संगै संसद अवरोध पनि हटेको छ ।
संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलको हिजो बसेको बैठकले उच्चस्तरीय छानविन समिति बनाउन आवश्यक तयारीका लागि तीन सदस्यीय कार्यदल बनाएको छ । मध्यराति सकिएको बैठकले एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी प्रमुख सचेतक हितराज पाण्डे सम्मिलित कार्यदल बनाएर उच्चस्तरीय छानबिन समितिका लागि आवश्यक कार्यविधि बनाउने जिम्मा दिइएको एमाले सचेतक पदम गिरिले जानकारी दिए ।
दलहरु बीच भएको सहमति अनुसार संगठित, अन्तर्राष्ट्रिय र फौजदारी प्रकृतीको सुन तस्करी प्रकरणमा राजनैतिक र निजामती तथा न्याय प्रशासनका अवकाशप्राप्त अधिकारीहरुको अनुसन्धान समिति बनाउने सहमति दलहरुले गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् को सिंहदरबार स्थित कार्यालयमा साँझ ८ बजेदेखि करिब तीन घण्टा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ लगायतका नेताहरु सहभागी थिए ।
यसअघि आइतबार बसेको राष्ट्रिय मान्यता प्राप्त दलको बैठक विना निष्कर्ष सकिएको थियो ।