
बनेपा । बि पी राजमार्ग अन्तर्गतको चौकोट-शारदा बतासे सडकखण्ड निर्माण व्यवसायीले पिच भत्काएर समयमै सडक कालोपत्रे नगरेको भन्दै स्थानीयले सडकखण्ड अवरुद्ध गरेका छन् ।
मर्मतको लागि बाटोमा रहेको पिच भत्काई सडक अलपत्र छाडिएको कारण हाल राजमार्गमा घाम लाग्दा धुलो उडेर जनस्वास्थमा असर परिरहेको छ भने पनि पर्दा हिलाम्मे भएर जोखिम युक्त तथा कस्टकारक भएको छ । निर्माण ब्यबसायी काम शुरु गर्ने भनि भत्काउन छिटो गर्ने र अलपत्र छाडी कार्यमा बिलम्ब गर्ने गरेको विरोधमा स्थानीय सडकमा उत्रिएका हुन् ।
यता धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेले भने मौसम अनुकूल नभएका कारण कामलाई निरन्तरता दिन नसकेको निर्माण व्यवसायीले जानकारी दिएको बताएका छन् । उनका अनुसार निर्माण कम्पनी गणेश एन्ड गंगा कन्स्ट्रक्सन कम्पनी प्रा. लि. ले २०८० असारसम्म सक्ने जिम्मेवारी पाए पनि समयसीमा भित्र मौसमको प्रतिकुलताले कार्य सम्पन्न नभएकोले समय थप गर्न निवेदन दिएको लामिछानेले बताए ।







