देशभर ७७ प्रतिशत धान रोपाइँ सम्पन्न, मधेसमा सबैभन्दा कम

Share:

काठमाडौं । देशभर ७७ प्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ सम्पन्न भएको छ । १२ साउनसम्म नेपालमा कुल धान रोपाइँ हुने भू-भागमध्ये ७७ प्रतिशत भू-भागमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गत वर्षको यसै अवधिमा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यस वर्षमा ढिला गरी मनसुन सुरु भएको र मनसुन सुरु भएपनि पर्याप्त वर्ष नहुँदा धान रोपाइँ कम भएको हो ।

मन्त्रालयका अनुसार देशभर कुल १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनुपर्नेमा १० लाख ५३ हजार ४०४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । प्रदेशगत रुपमा हेर्दा अन्न भण्डारको रुपमा परिचित मधेस प्रदेशमै सबैभन्दा कम रोपाइँ भएको छ । सो प्रदेशमा जम्मा ५९ प्रतिशत रोपाइँ भएको छ ।

धानखेती हुने सबैभन्दा बढी क्षेत्रफल यहीं प्रदेशमा पर्दछ । प्रदेशको ३ लाख ५४ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुनुपर्नेमा २ लाख ९ हजार हेक्टर क्षेत्रफलमा राेपाइँ भएको छ ।

त्यस्तै कोशी प्रदेशमा ८४, वाग्मतीमा ७२, गण्डकीमा ८२, लुम्बिनीमा ८१, कर्णलीमा ८५ तथा सूदुरपश्चिममा ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
कमेन्ट गर्नुहोस्