
काठमाडौँ । गत साउन २ गतेदेखि जारी रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज समापन हुदैछ। ललितपुर स्थित सानेपामा रहेको केन्द्रिय कार्यालय सानेपामा बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ।
त्यस अगाडी बैठकमा छलफल भइ भएका निर्णयहरुलाई अन्तिम प्रारूप दिनको लागि हिजो बसेको पदाधिकारी बैठक बिना निष्कर्ष रहेपछि पुन: आज बिहान ११ बजे सभापति शेरबहादुर देउवा निवासमा बस्न लागेको हो।
बिगत एक हप्तादेखि जारी रहेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि सोमबारदेखि भने पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए। केन्द्रीय समितिमा समय तालिका सहित पेस भएको १० वटा प्रस्तावलाई केन्द्रीय सदस्यहरुले दिएको सुझावका आधारमा संशोधनसहित आज पारित गर्ने तयारी रहेको बुझिएको छ।
आजको समापन बैठकमा केन्द्रीय सदस्यहरुबाट आएको विचार तथा छलफलका विषयहरु लाई निष्कर्ष दिनुका साथै सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको कांग्रेस प्रचार विभागले जानकारी दिएको छ।
विभागका अनुसार आज साझ बैठकका निर्णय सार्वजनिक हुने सम्भावना छ।







