
३१ काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका, वडा नं ९ मा रहेको पर्यटकीयस्थल देविस्थान डाँडाबाट व्यवसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु भएको छ। देविस्थानबाट धुलिखेल-८ स्थित बडाल गाउँसम्म करिब डेढ किलोमिटर दूरी तथा ५ हजार ५ सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो।
विश्वबजार प्याराग्लाइडिङ प्रा.लि.ले संचालन गर्ने उक्त व्यावसायिक उडानको पूर्व मन्त्री एवं सांसद गोकुल प्रसाद बाँस्कोटाले शनिबार शुभारम्भ गर्दै देशको समृद्धिको लक्ष्यलाई धुलिखेलमा सुरु गरिएको प्याराग्लाइडिङले धुलिखेलको थप चिनारीसँगै आयआर्जनमासमेत वृद्धि हुने विचार ब्यक्त गरेका छन् ।
पोखरामा सञ्चालन भएका अनुभबी प्याराग्लाइडिङ कम्पनीहरूको सहकार्यमा धुलिखेलमा पनि व्यावसायिक उडान सुरु गर्न कयौ पटकको परीक्षणपछि औपचारिक उडान गर्न अनुमति पाएको उल्लेख गर्दै कम्पनीले तोकिएको दूरीमा ३० मिनेट अवधिको उडानको शुल्क रु सात हजारमा रहने छ जसमा रु ३७ लाखको दुर्घटना बीमाको व्यवस्था गरिएको जनाएको छ भने एकैपटकमा ६ वटा सम्म उडान गर्न सकिने बताएको छ ।
यस्तै गतसाल पुस अन्तिम साताबाट पनौती नगरस्थित पर्यटकीय पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान भइसकेको छ । प्राधिकरणले काभ्रेको फुल्चोकी कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङको अनुमति दिएको थियो ।
यसैगरी काभ्रेकै पूर्वीक्षेत्र कोशीपूर्वस्थित भम्लु गाउँपालिकामा पनि कही महिनाअघि प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । उक्त क्षेत्रमा प्याराग्लाइडिङ उडानको तयारीस्वरुप अध्ययन भइरहेको जनाइएको छ । विशेषगरी काभ्रेमा अधिकांश पहाडी भू–भाग रहेकाले साहसिक खेल प्याराग्लाइडिङ प्रवर्द्धनका लागि प्रचुर सम्भावना देखिएको हो ।







