सञ्चालनमा आयाे हेटौँडा–भरतपुर प्रसारण लाइन

Share:

काठमाण्डाै । हेटौँडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौँडा–भरतपुर खण्ड सञ्चालनमा ल्याएको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलकाे पुरानो हेटौँडा सबस्टेशनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीकाे नयाँ भरतपुर सबस्टेशनसम्मको २२० केभी प्रसारण लाइन सञ्चालनमा आएपछि हेटौँडाबाट भरतपुरतर्फ र भरतपुरबाट हेटौँडातर्फ झन्डै १७० मेगावाट विद्युत् प्रवाह गराउन सकिन्छ । अहिले रहेको पुरानो १३२ केभी प्रसारण लाइनबाट झन्डै ९० मेगावाटमात्र विद्युत् प्रवाह हुँदै आएको थियो । हेटौँडा–भरतपुर खण्ड सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा थप विद्युत् प्रवाहका लागि केही सहज हुने छ ।

नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजना सुरु गरिएको हो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण कर्जामा आयोजना सन् २००८ मा सुरु गरिएको थियो । आयोजनालाई हेटौँडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादन लगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो । विश्व बैंकले आयोजनाबाट २०७८ को कात्तिकदेखि हात झिकेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो ।

हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि भारतीय कम्पनी आईकम टेलबीच २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो । तर काम नगरि रणनीतिक महत्त्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले ठेक्का तोडी कम्पनीले कार्यसम्पादन जमानत बापत राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि जफत गरेको थियो । यसैगरी प्राधिकरणले काम ढिला गरेबापत झन्डै १६ लाख डलर विलम्ब जरिबाना पनि लगाउने निर्णय गरेको थियो । त्यसपछि नयाँ टेन्डर आह्वान गरी २०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरिएको थियो ।

कमेन्ट गर्नुहोस्