काठमाडौँ — सरकारले बजेटमार्फत आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि उपत्यकाको लगभग ७० प्रतिशत माग धानेको कालिमाटी तरकारी बजारमा लगभग १२ दिन देखि भारतीय आलु र प्याज आएको छैन जसको फाइदा उठाउँदै खुद्रा व्यापारीले कालोबजारी गर्न थालेका छन् । आयातमै निर्भर भएको प्याजको मूल्य यतिबेला मनोमानी छ । बजेट भाषणको अघिल्लो दिन खुद्रा मूल्य प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्म पर्ने प्याज अहिले ९० देखि १ सय रुपैयाँसम्म पुगेको छ । यसअघि यी तरकारी तथा फलफूलमा भ्याट लाग्दैन थियो, अब १३ प्रतिशत भ्याट लाग्छ ।
आलु तथा प्याज नभित्रिएको पुस्टि गर्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ भन्छन ‘भारतबाट केही मात्रामा आएको हुन सक्छ, तर २१ गतेयता कालीमाटीमा भारतीय आलु–प्याज भित्रिएको छैन,’ ‘धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोकबाट भित्रिए पनि नगण्य छ । एक/दुई टनले माग धान्न सक्दैन ।’ समितिका अनुसार भारतबाट दैनिक औसत ८० देखि ९० टन प्याज भित्रिन्छ ।
भारतबाट आयात नभएपछि समितिभित्र कारोबार हुन छाडेको श्रेष्ठले बताए । भारतबाट दैनिक डेढ सय टनसम्म आयात हुने आलुको आयात पनि रोकिएको छ । ‘सिजन भएकाले स्वदेशी आलु ७०/८० टन भित्रिएको छ, त्यसपछि फेरि भारतकै भर हुन्छ,’ श्रेष्ठले भने, ‘भ्याट लागेपछि व्यवसायीहरूले मगाएकै छैनन्, त्यसको असर स्वतः खुद्रा बजारमा देखिएको हो ।’







