काठमाडौं : दादुराको प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी बिरामी परेका छन्। स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा दादुरा फैलिएको हो।
महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप भएको छ।
ती स्थानीय तहका ६ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको र अहिलेसम्म बाँकेको नेपालगङ्जमा एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
यही जेठ २४ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको महाशाखाले जनाएको छ। दादुरा फैलिएका जिल्लामा हालसम्म दुई लाख १५ हजार ५४ जनालाई दादुरा विरुद्धको खोप लगाइएको छ।
बाल स्वास्थ्य तथा खोप शाखाले यही जेठ २५ गतेदेखि सुनसरी मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुरा जिल्लाका छ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा र रुवेला विरुद्धको खोप अभियान सुरु गरेको छ।
दादुरा र रुवेला रोग कोरोना भाइरसभन्दा पनि तीव्रगतिले फैलिनाका साथै मृत्युदर पनि उच्च रहेको छ। एक जना दादुरा सङ्क्रमितले १८ जनासम्ममा रोग सार्न सक्ने जनाइएको छ।
मन्त्रालायले यसअघि जतिपटक खोप लगाएपनि अभियानका क्रममा पुनः खोप लगाउन आग्रह गर्दै आएको छ।
महाशाखाले काठमाडौँका सबै स्वास्थ्य संस्था तथा निजी अस्पतालमा सक्रिय दादुराका बिरामी खोजी जारी राखेको जनाउँदै ती स्वास्थ्य संस्था तथा निजी अस्पताललाई दादुराका बिरामीको विवरण नगरपालिका र स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन अनुरोध गरेको छ। यस्तै दादुराको निगरानीका लागि सबै जिल्ला र नगरपालिका स्रोत व्यक्तिलाई संवेदनशील हुनसमेत महाशाखाले अनुरोध पनि गरेको छ।







