
केही समय यता बैंक तथा वित्तीय संस्थामाथि चारैतिरबाट आक्रमण हुन थालेको छ । त्यसमा पनि लघुवित्तहरुको एक पछि अर्को समाचार आउन थालेका छन् । संघर्ष समिति नै खडा गरेर ऋणीहरु आन्दोलित भएका छन् ।
विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरुलाई सदस्य बनाई तिनीहरुबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरुको बचत संकलन गर्ने उदेश्यका साथ खोलिएका लघुवित्तहरु नै नाफामुखी बन्दा पछिल्लो समय लघुवित्तमा समस्या देखा परेका छन् ।
लघुवित्तहरु आफ्नो उद्देश्य भुलेर छिटै नाफा कमाउने बाटोमा लाग्दा समस्या देखा पर्न थालेको नियामक निकाय राष्ट्र बैंक नै स्वीकार गर्छ ।
लघुवित्तहरूलाई कर्जा कारोबारको आधारमा थोक कर्जाको मात्र कारोबार गर्ने र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्था गरी २ प्रकारमा वर्गीकरण गर्न सकिन्छ । खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूले मात्र विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई कर्जा प्रवाह गर्ने गर्दछन ।
साथै, लघुवित्तहरूले विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाएर तिनीहरूबाट नियमित रुपमा बचत संकलन गरेको रकम र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट विपन्न वर्ग शीर्षकमा सापटी लिएर आफ्ना सदस्यहरूलाई सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न बिना धितो लघु कर्जा तथा स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने कार्य गर्दछन् ।
पछिल्लो लघुवित्तहरूले सर्वसाधारण जनतालाई जबरजस्त ऋणको भारी बोकाउने गरेका छन् । लघुवित्त संस्थाहरुले अति न्यून आय भएका परिवारलाई झन गरिबीमा पुर्याएको तथ्य एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् ।
कति ऋण छ भन्नेबारे ऋणी नै अनविज्ञ !
बाराको जितपुर सिमरा नगरपालिकाका शाहिर खान पठानले पसल खोल्नका लागि नेशनल माइक्रोफाइनान्स लघुवित्तबाट २ लाख रुपैयाँ ऋण लिए । उनले प्रत्येक महिना ८ हजार रुपैयाँका दरले किस्ता पनि बुझाए । उनले १२ महिना ८ हजार रुपैयाँका दरले किस्ता बुझाएका थिए ।
तर लघुवित्तले जम्मा पाँच महिना मात्र किस्ता बुझाएको देखायो । उनी भन्छन्, ‘मैले जम्मा २ लाख ऋण लिएको थिए । प्रत्येक महिना ८ हजारका दरले १२ महिनासम्म किस्ता बुझाए । मेरो ९८ हजार रुपैयाँ बचत पनि थियो । तर संस्थासँग मैले पाँच महिनाको किस्ता बुझाएको रेकर्ड मात्र छ । किस्ता बुझ्न आउने कर्मचारी सरुवा भइसकेको छ । कर्मचारी झिका भन्दै संस्थाले मान्दैन । म बर्वाद भए ।’
उनका अनुसार उक्त लघुवित्तलाई ९६ हजार रुपैयाँ बुझाइसकेको छ । तर लघुवित्तसँग ४० हजार रुपैयाँ बुझेको रेकर्ड छ । १२ महिनाको किस्ता बुझाउँदा पनि ५ महिनाको किस्ता बुझाएको देखाएपछि उनले किस्ता बुझाउनै छाडे । अहिले लघुवित्तले कालोसूचीमा राख्छु भनेर दिनहुँ धम्की र डर देखाउने गरेको उनी सुनाउँछन् ।
जितपुर सिमराकै पदमकुमारी हमलाको पनि पीडा उस्तै छ । उनले ८/९ वटा लघुवित्तबाट ऋण लिएकी थिइन् । अहिले ऋण कति छ भन्ने नै उनलाई अलमल छ ।
उनी भन्छिन्, ‘एक लाख लिएकोमा ४ लाख रुपैयाँ बनाइदिएको छ । ५० हजार लिएकोमा ३ लाख बनाइदिएको छ ।’ व्यवसाय चलुन्जेल ट जेनतेन उनले बुझाएकी थिइन् । पछि व्यवसाय घाटामा गएपछि उनीमाथि ऋणमाथि ऋण लाग्यो ।
उनी भन्छिन्, – ‘आफ्नो लेखपढ छैन । एउटा लघुवित्त आउँछ आइजो मेरोमा सदस्य बन म सहुलियत ऋण दिन्छु भन्यो । पत्याएर त्यति गइयो । एउटामा सदस्य हुँदा हुँदै फेरि अर्को आएर मेरोमा पनि बसिदिनु भन्यो बसियो । एउटाको ऋण तिर अर्कोबाट ऋण लिइयो । सुरुमा एक लाख ऋण लिएको थिएँ । त्यही एक लाख तिर्न अर्कोबाट ऋण लिँदै तिर्दै गर्न लाग्दा आज यो दिन आयो ।’ ऋण तिर्न नसकेपछि लघुवित्तले दिनहुँ सताउन थालेपछि गाउँका केही महिला गाउँ छाडेर पनि हिडेको उनले सुनाइन् । ‘हामी त भागेर कता कता गयौँ । महिला जम्मा भयौँ र मर्न भनेर नारायणी गयौँ । एक हप्तासम्म लुकेर पनि बस्यौं । पछि घरकाले हामी तिर्दिन्छौँ भएपछि तिरौंला भनेपछि फर्कियौँ ।’ उनले भनिन् ।
ऋण कति छ भन्नेमै उनलाई अलमल छ । उनी भन्छिन्, ‘ऋण त त्यस्तै १०/११ लाख छ । लघुवित्तहरुले ५०/६० लाख पुर्याइदिएका छन् । कुखुरा फर्म खोल्न भनेर ऋण लिएका थियौँ । कुखुरा पनि पालियो तर डुबियो ।’ नबुझिकन ऋण लिँदा उनी आज जन्जालमा फसेकी छिन् ।
कमला पौडेलको पीडा पनि उस्तै छ । उनले झन् १५ वटा संस्थाबाट ऋण लिएकी छिन् । एक लाख डेढ लाख गर्दै ऋण लिएको उनी अहिले तिर्नै नसक्ने अवस्थामा पुगेकी छिन् ।
उनी भन्छिन्, ‘गाडी किन्नको लागि ऋण लिएका थियौँ । त्यतातिर पनि डुब्यौं । संस्थाबाट नि डुबियो । एउटा संस्थाको ऋण तिर्न अर्कोबाट निकाल्यौँ । फेरि अर्कोको तिर्न अर्कोबाट निकाल्यौँ ।’ उनलाई जम्माजम्मी कति ऋण लिइन् भन्ने यकिन हिसाब नै छैन । उनी भन्छिन्, ‘हर्जाना ब्याज भनेर बढी बढी पैसा लिन्छ । एक लाख लियो भने २० हजार उनीहरुले नै राख्छन् । ब्याज भने एक लाखको नै लिन्छन् । हामीले बचत गरेका थियौँ त्यो बचत अहिले छैन ।’
उनीमात्र होइन सो गाउँका सबै महिलाहरुको हालत यस्तै छ । उनीहरु गाउँ छाडेर भाग्नुपरेको अवस्था छ । उद्यमी बन्नेका सपना ढलेका छन् । गरीबी माथि झनै गरीबी थपिएको छ । घरबारबिहिन हुने अवस्थामा पुगेका छन् । अभाव टार्न खोज्नेहरु आज दबाबमा परेका छन् ।
लघुवित्त संस्थाका कर्मचारीहरुले गाउँगाउँ पुगेर सदस्य बन्न आग्रह गर्ने गरेको, आफू एउटा हुँदा अर्कोमा बस्दा केही हुन्न भदै फेरि अर्को संस्थाले पनि प्रलोभनमा पारेर राखेको उनीहरुको गुनासो छ ।
लघुवित्त वित्तीय संस्थाका कारण न्यूनआय भएका वर्ग झन् प्रभावित बनेका छन् ।
लघुवित्तले ऋणको प्रयोजन, सदुपयोग, दुरूपयोगबारे अनविज्ञ बन्दा यो समस्या आएको जानकारहरु बताउँछन् । ऋण प्रवाह गर्दा ऋणीले तिर्न नसक्ने आधार छुट्याउन लघुवित्तहरु चुकेका छन् ।
कर्जा प्रवाहमा राष्ट्र बैंकको कडाइ
लघुवित्त क्षेत्रमा देखिएका समस्या सडकदेखि सदनसम्म छताछुल्ल भएपछि राष्ट्र बैंकले कडाई गरेको छ । राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशनमा संशोधन गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणीहरुले लघुवित्त वित्तीय संस्थाहरुबाट कर्जा लिन नपाउने व्यवस्था गरेको हो ।
यसअघिसम्म यो व्यवस्था थिएन । बिना धितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटामात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्थाबमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
यसअघि एउटै व्यक्तिले धेरै वित्तीय संस्थाबाट ऋण लिँदा समस्या देखिएको थियो । ऋणीले एउटा संस्थाको ऋण तिर्न अर्को संस्थाबाट ऋण लिने गरेका थिए ।








