
काठमाडौँ । यू-१९ विश्वकपको एसिया छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै छन् । हिजो साँझ युएई पुगेको नेपाली यू-१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिड्न लागेको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाइ गरेको थियो । क्यानका अनुसार दोस्रो खेल भने २५ फेब्रुअरी अर्थात् १३ फागुनमा कुवेतसँग हुनेछ भने कुवेतसँग खेल खेलेको एक दिन पछि लगतै नेपाली यु–१९ टोलीले २७ फेब्रुअरी अर्थात् १५ फागुनमा हङकङसँग खेल्नेछ ।
२८ फेब्रुअरी अर्थात् १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात् १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।
उक्त खेलमा विजेता एउटा टोलीले २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकप खेल्ने मौका पाउने छन् ।








