पुरानै गठबन्धन ब्युँताउन देउवा र दाहालबीच समझदारी : कांग्रेसलाई राष्ट्रपति

174
0
Share:

नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पुरानै गठबन्धन ब्युँताउने समझदारी जुटेको छ ।

“हामी चुनावअघिकै गठबन्धन ब्युँताउनेगरी समझदारीमा पुग्यौं,” कांग्रेसका एक नेताले भने, “यसमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच पनि एक चरणमा कुराकानी भएको छ । भोलि हामी सबै विषयमा प्याकेजमा निष्कर्षमा पुग्छौँ ।”

देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीको बैठकलगत्तै सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए । त्यसलगत्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका प्रभावशाली नेताहरु घनश्याम भुसाल र बेदुराम भुसालसँग छलफल गरेका थिए ।

उनीहरुसँगको छलफलपछि केही पदाधिकारीसहित बालुवाटार पुगेका देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पुरानै गठबन्धन ब्युँताउन प्रस्ताव गरेका थिए ।

“कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले अनलाइनपानासँग भने, “विश्वासको मत दिएका छौँ राष्ट्रपतिमा सहयोग गर्नुस्, हामी उमेदवारी दिन्छौँ तपाइँहरु सहयोग गर्नुस् भनेर भन्यौँ ।”

जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीले निर्णय गर्ने अधिकार आफूलाई दिएको भए पनि बिहीबार नेताहरुसँग बसेर निर्णय गर्ने बताएका थिए । “मलाई पार्टीले जिम्मेवारी दिएको छ, तपाईँहरुले उठाएको विषयमा म सकारात्मक छु । चाँडै निर्णय दिन्छु,” प्रचण्डको भनाई थियो ।

राष्ट्रपति कांग्रेसले पाउनेछ भने प्रचण्डले कति वर्ष प्रधानमन्त्री लिने र त्यसपछि को भन्ने विषयमा पुरानै गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुको बिहीबार बस्ने बैठकले टुंगो लगाउनेछ ।

कमेन्ट गर्नुहोस्