
विद्युत नियमन आयोगले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न ससर्त पूर्वस्वीकृति प्रदान गरेको छ।
आयोगले कम्पनीलाई चुक्तापुँजीको २:१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद जारी गर्न पूर्वस्वीकृति प्रदान गरेको हो । आयोगले विभिन्न ५ बुँदे सर्त अघि सार्दै कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि पूर्वस्वीकृति प्रदान गरेको हो ।
आयोगका अनुसार कम्पनीले प्रचलित कानुनबमोजिम अनुमतिपत्र जारी गर्ने निकाय तथा अन्य निकायबाट सहमति लिनुपर्ने भएमा सो लिई आयोगलाई जानकारी गराउनुपर्नेछ।
प्रचलित कानुनबमोजिम लाभकर लगायत अन्य कर बझाउनुपर्ने भएमा सम्बन्धित निकायमा सो कर बुझाउनुपर्नेछ सर्त आयोगले राखेको छ ।
कम्पनीले आयोगबाट समय–समयमा जारी भएको मापदण्ड संहिता तथा संस्थागत सुशासनसम्बन्धी निर्देशन पालना गर्नुपर्नेछ।
त्यहाँअन्तर्गतका सेयरधनीहरुमध्ये कुनै सेयरधनी विद्युतसम्बन्धी आयोजना बनाई नेप्सेमा सूचीकृत कम्पनी भएमा हकप्रद सेयर जारी गरी लगानी गर्ने भएमा आयोगको पूर्वस्वीकृति लिनुपर्नेछ।
आयोगले ऐन, नियमावली, विनियमावली र निर्देशिकाबमोजिम कार्यान्वयन गर्न र निर्दिष्ट विषय सम्पादन गर्न समय–समयमा आदेश वा परिपत्र जारी गर्दा सोको परिपालना कम्पनीले गर्नुपर्नेछ।
आयोगको गत माघ १२ गते बसेको बैठकले सिनर्जी पावरलाई हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो। सिनर्जी पावर दोलखा जिल्लामा निर्माणाधीन सिप्रिङ खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी हो।








