सरकारले विदेश पलायन हुने जनशक्तिलाई रोक्न सक्नुपर्छ : मन्त्री कुँवर

260
0
Share:

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन् । काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुने नेपाली जनशक्तिलाई रोक्नुपर्ने बताए । “देशले पर्याप्त रोजगारी सिर्जना गर्न सकेको छैन, रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसायहरु खोलेर रोजगारीको वातावरण मिलाउनुपर्छ”, उनले भने ।

मन्त्री कुँवरले नेपालमा रहेका कम्पनीहरुमा काम गर्ने नेपाली मजदुरहरुभन्दा विदेशीहरु बढिरहेको भन्दै नेपाली श्रमिकलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार पछिल्लो समय लागिपरेको बताए । गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० जनाले श्रम स्वीकृति लिएर विदेश गएको उनको भनाइ छ । उनले लुकेर र भिजिट भिसामा विदेशमा गई काम गर्नेका लागि कुनै समस्या परे राज्यले दिने सेवासुविधा नपाउने उल्लेख गरे ।

मन्त्री कुँवरले भिजिट भिसामा विदेशमा काम गर्न जाने श्रमिकको नियमन गर्न नसकेको बताए । गत तीन वर्षको तथ्याङ्कअनुसार ४६ लाख नेपाली नागरिकहरु विदेश गएको उनको भनाइ थियो । मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषको दायरालाई बढाउनसके १० लाखसम्मको रोजगारी स्वदेशमा नै सिर्जना गर्नसक्ने बताए । स्वदेशमै उत्पादन बढाउन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको मन्त्री कुँवरको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्