मर्जर र लाभांश प्रस्ताव पारित ग्लोबल आइएमई बैंक र बीओकेद्वारा साधारणसभा आह्वान

Share:

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्न वार्षिक साधारणसभा आह्वान गरेका छन् । यी दुवै बैंकको साधारणसभा मंसिर २३ गते हुँदैछ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिक साधारणसभा आउँदो मंसिर २३ गते काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक बैंक्वेट एन्ड इभेन्ट्स सेन्टरमा बिहान १० बजेबाट सुरु गर्नेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७८–७९को मुनाफासमेतबाट चुक्तापुँजीको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) स्वीकृत गर्ने र सोही हदसम्म जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्तावपारित गर्नेछ। सभाले बैंकको अधिकृत पुँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

बैंक अफ काठमाण्डू (बीओके)ले आफ्नो २८औँ वार्षिक साधारणसभा आउँदो मंसिर २३ गते काठमाडौंको टुडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट सुरु गर्नेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७८–७९ को मुनाफासमेतबाट चुक्तापुँजीको कुल २०.९५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) छन्।

सभाले बोनस सेयर जारी भएपश्चात बैंकको पुँजी वृद्धि हुने भएकोल सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ।

यी दुवै बैंकको सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ। सभाले डीडीएका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १:१ स्वीकृत गर्नेछ।

मर्जर प्रयोजनका लागि दुवै बैंक सेयर कारोबार गत असारबाट रोक्का रहेको छ।

वार्षिक साधारणसभा र बोनस सेयर प्रयोजनार्थ ग्लोबल आईएमई बैंकले मंसिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मंसिर ६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई मंसिर १४ गतेसम्म बैंकको सेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटलमा प्राप्त सेयर नामसारीका आधारमा सेयरधनी दर्ता किताबमा कायम सेयरधनीहरुले सभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

बैंक अफ काठमाण्डूको हकमा भने असार १ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंक लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

कमेन्ट गर्नुहोस्