
नेपाल राष्ट्र बैंकले एक–आपसमा गाभिन (मर्जर) मा जान प्रारम्भिक समझदारीपत्र एमओयू गर्ने वाणिज्य बैंकलाई चेतावनी दिएको छ । मर्जरबाटपछि हटे सुविधा रोक्ने समेत राष्ट्र बैंकले चेतावनी दिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) को विनियम १५ (४) मा रहेर विभिन्न निर्देशन तथा चेतावनी बैंकहरुलाई दिइरहेको छ ।
हाल नेपाल इन्भेष्टमेन्ट–मेगा, हिमालयन–सिभिल, ग्लोबल आइएमई–बैंक अफ काठमाण्डू, प्रभु–सेञ्चुरी र कुमारी–एनसीसी बैंकले मर्जर सम्झौता गरेका छन् । यी बैंकहरुले अहिले मर्जरको प्रक्रियामा छन् ।
राष्ट्र बैंकले भनेको छ, ‘सैद्धान्तिक सहमति प्राप्त गरिसकेपछि मनासिव माफिकको कारणसहित यस बैंकबाट स्वीकृति नलिई आफू खुशी प्राप्ति प्रक्रिया भङ्ग गर्न पाइनेछैन । आफू खुसी गाभ्ने गाभिने तथा प्राप्ति प्रक्रिया भङ्ग गरेमा विद्यमान ऐन नियम र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) को विनियम १५(४) बमोजिम कारबाही गरिनेछ ।’
राष्ट्र बैंकले बैंकहरुलाई कुनै संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभुत सेयरधनीहरुलाई सेयर खरिदबिक्री तथा हक हस्तान्तरणमा रोक लगाउने, दुवै संस्थाका सञ्चालक समितिलाई सचेत गराउने, दुवै संस्थालाई अन्य कुनै संस्थासंग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभूत सेयरधनीहरुलाई दिने लाभांश वितरणमा प्रतिबन्ध लगाउने, दुवै संस्थालाई अन्य कुनै संस्थासँग गाभ्नेरगाभिने वा प्राप्तिमा नगएसम्म तीन वर्षको लागि थप शाखा कार्यालय खोल्न रोक लगाउने भएको छ।








