भेडा मर्न थालेपछि किसानलाई समस्या

130
0
Share:

म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन् । २ महिनादेखि भेडाले घाँस नखाने, च्यापु सुनिने लगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक किसान यामबहादुर छन्त्यालले बताए ।

२ महिनामा किसान छन्त्यालका २४ भेडा मरेका छन् । साना पाठापाठीदेखि ठूला भेडाखसी मरेर क्षति पुगेको छन्त्यालले बताए । ठाडाखानीमा पूर्णबहादुर छन्त्यालले समेत १७ भेडा मरेका बताए । यहाँका करीब ३ दर्जन बढी घरमा परम्परागत रूपमा भेडापालन हुँदै आएको छ ।

भेडापालनको पकेट क्षेत्रका रूपमा यहाँ सिद्ध भेडापालन र मालिका भेडापालन २ समूहमा आबद्ध भएर भेडापालन गरिँदै आएको छ । भेडा मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत पशु चिकित्सकको टोलीगोठमै पुगेर भेडाबाख्राको स्वास्थ्य जाँच तथा रगतको नमूना संकलन गरेको छ ।

कार्यालय प्रमुख जीवन आचार्यका अनुसार भेडामा आन्तरिक र बाह्य परजीविको संक्रमणका कारण भेडा मरेको बताए । उनले उपचारका लागि आवश्यक औषधि खरिद गर्न गाउँपालिकालाई आग्रह गरिएको बताए ।

‘खोरमा भेडापालन भएकाले एउटै ठाउँमा सधैं राखिरहने र खोरको उचित व्यवस्थापन नहुँदा किर्ना, जुका लगायतको समस्या बढी हुने गर्छ, किसानलाई खोरको सरसफाइ र भेडाको उचित हेरविचार गर्न समेत सुझाएका छौं,’ उनले भने ।

भेडापालक किसानको सुविधाका लागि गाउँपालिकाले डिपिङ ट्यांकी समेत निर्माण गरेको तर त्यसको प्रयोग नगरेका कारण भेडामा रोगको संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । उपचारका लागि पशु चिकित्सकले दिएको रिपोर्टअनुसार आवश्यक पर्ने खोप लगायतका औषधि खरिद गर्ने तयारी गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्