
भारतको प्रतिस्पर्धा आयोग सीसीआई ले गुगललाई १३ अर्ब भारू भन्दा धेरै जरिवाना लगाएको छ । एन्ड्रोइड मोबाइल उपकरण बजारमा आफ्नो प्रभुत्वको दुरुपयोग गरेकोमा गुगललाई १३ अर्ब ३७ करोड ७६ लाख भारू जरिवाना लगाइएको छ ।
गुगललाई भारतीय प्रतिस्पर्धा आयोगले उक्त जरिवाना तोक्दै आफ्ना अनुचित व्यापारिक गतिविधिलाई रोक्न तथा निश्चित समयसीमामा यस विषयको समाधान निकाल्न निर्देशन दिएको छ।
एन्ड्रोइड मोबाइल उपकरण क्षेत्रमा रहेको आफ्नो मजबुत उपस्थितिको गलत फाइदा उठाएको आरोपमा गुगल जरिवानामा परेको हो।
सीसीआईले गुगललाई चाँडै काम गर्ने तरिकामा परिवर्तन गर्न पनि निर्देशन दिएको छ । स्मार्ट मोबाइल फोनमा एप्लिकेसन र प्रोग्रामहरू चलाउन अपरेटिङ सिस्टम चाहिन्छ। सन् २००५ मा गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टम अधिग्रहण गरेको थियो।
सीआईसीले एन्ड्रोइड अपरेटिङ सिस्टम भएका मोबाइल फोनमा गुगलको आफ्नै सर्च एप, क्रोम ब्राउजर र युट्युब पहिले नै इन्स्टल भएको पत्ता लगाएको छ । यसले गुगुलाई बजारमा अन्य प्रतिष्पर्धीभन्दा अनुचित फाइदा दिने सीसीआईले जनाएको छ ।
यस विषयमा अनुसन्धान गर्न यन्त सिंहाको अध्यक्षतामा वित्तसम्बन्धी संसदीय स्थायी समितिको गठन पनि गरिएको थियो। प्रतिस्पर्धाका विभिन्न विषयमाथि अनुसन्धान गरिरहेको समितिले एप्पल र एन्ड्रोइडका बीचमा केही स्तरमा प्रतिस्पर्धा रहे पनि त्यो केवल खरिद गर्ने समयमा मात्र देखिने गरेको बताएको छ।








