डलरको मूल्य दिनहुँ आकासिँदै, नेपाललाई कस्तो असर गर्ला ?

153
0
Share:

पछिल्लो समय अमेरिकी डलरको मूल्यले दिनहुँजसो नयाँ कीर्तिमानी बनाउन थालेको छ । बुधबार राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार एक डलरको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा रहेको छ। जुन हालसम्मकै उच्च रहेको छ ।

अब नेपालीले एक अमेरिकी डलर खरिद गर्नको लागि १३२ रुपैयाँ ०८ पैसा खर्च गर्नुपर्छ । डलरको भाउ बढ्दै जाँदा नेपाली रुपैयाँ कमजोर बन्दै गइरहेको छ । यसै पनि देशको आर्थिक अवस्था संकटतर्फ धकेलीरहेको अहिलेको अवस्थामा डलरको भाउ बढ्दै जाँदा झनै चुनौती थपिने भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।

विश्व बजारमा नै अमेरिकी डलरको बलियो हुँदै जाँदा यसले विश्वव्यापी मूल्यवृद्धि निम्त्याउने विज्ञहरू बताउँछन् । नेपालको अर्थतन्त्र आयातमा निर्भर छ । जसले गर्दा आयातित वस्तुको मूल्य अझै आकासिने विज्ञहरु बताउँछन् ।

डलरको भाउ बढ्दा नेपाललाई फाइदा

डलरको भाउ बढ्दा नेपाललाई फाइदा पनि छ । नेपालको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले ओगटेको छ । डलरको भाउ बढ्दा नेपाल भित्रने रेमिट्यान्स पनि वृद्धि हुन्छ । डलर बढ्दा रेमिट्यान्स आप्रवाहामा सकारात्मक प्रभाव पर्दछ ।

त्यसैगरी, पर्यटन क्षेत्रलाई पनि डलरको भाउ वृद्धिले सकारात्मक प्रभाव पार्दछ । नेपालमा आउने विदेशी पर्यटकले डलर बोकेर आउँछन् । र त्यो पैसा नेपालमै खर्च गरेर जान्छन् । पर्यटन क्षेत्रले पनि मुलुकको अर्थतन्त्रमा उल्लेखीय टेवा पुर्याइरहेको अवस्थामा यसले अर्थतन्त्रको बिग्रिएको अवस्थामा थप सुधार ल्याउँछ ।

डलरको मूल्य बढ्दा वस्तु तथा सेवा निर्यात गर्दा सकारात्मक प्रभाव रहन्छ । वस्तु तथा सेवाको निर्यातलाई वृद्धि गर्न सकेमा यसको फाइदा रहन्छ ।

मूल्यवृद्धिको चिन्ता

नेपालको अर्थतन्त्र आयातमा आधारित छ । त्यसैले डलरको मूल्य बढ्दा हुँदा महँगी बढ्छ । नेपालले वर्षेनी खर्बौँको वस्तु तथा सेवा आयात गरिरहेको छ । डलरको मूल्य बढ्दै जाँदा आयातित वस्तुको मूल्य बढ्ने गर्छ । यसै पनि महंगीको मारमा रहेका जनतालाई यसले झनै अप्ठेरो स्थिति ल्याइदिन्छ । अहिले साधारण नेपालीहरुलाई चुल्हो बाल्ने मुस्किल पर्ने अवस्था सृजना भएको छ ।

यसरी नेपालको अर्थतन्त्र आयातमा आधारित अर्थतन्त्र हुँदा डलरको मूल्यले नकारात्मक असर पर्न जान्छ । आयात बढेर विदेशी विनिमय सञ्चिति घटिरहेको अवस्थामा डलरको मूल्य बढ्दै जाँदा यसले अर्थतन्त्रमा झनै संकट निम्त्याउने विज्ञहरू दाबी गर्छन् ।

डलरको मूल्य बढ्दा तेस्रो मुलुकबाट डलर तिरेर गर्नुपर्ने आयातबाट अर्थतन्त्रलाई ठूलो नोक्सानी पर्न जान्छ ।

कमेन्ट गर्नुहोस्