
नयाँ राइड सेयरिङ एप ‘जाउँ गुरु’ सुरु भएको छ। नेपालमा बढ्दो ‘राइड सेयर एप’ को भीडमा आइतबार काठमाडौँस्थित होटल र्याडिसनमा ‘जाउँ गुरु’ को औपचारिक उद्घाटन गरिएको हो।
जाउँ गुरु प्रालिमा तीन युवा इन्द्रहाङ लिङ्देन, खुसी लिम्बु र दिवाकर अर्यालले सामूहिक लगानी गरेका छन्। प्रवासमा रहेका लिङ्देन र लिम्बु लण्डनमा बसेर व्यापार व्यवसाय र समाजसेवामा आवद्व छन् भने अर्यालले युथ पालियामेन्ट नेपाल संस्थाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रियाकलाप युवाका सवालका विषयमा काम गर्दै आइरहेका छन्।
जाउँ गुरु एपका प्रयोगकर्ताका लागि लोकेसन सेयर, जीपीएस ट्रयाकिङ, भुक्तानीका लागि खल्ती लगायतका अन्य अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिने र २४सै घण्टा कल सेन्टर सेवा लगायतका सुविधा रहेका छन्।
मोटरसाइकल र ट्याक्सी राइडर यस संस्था/एपसँग आवद्ध हुँदा र यात्रु चढाउँदा पनि कुनै शुल्क नलाग्नु, चालकका लागि राइडरले सजिलै दर्ता गर्न सकिने, राइडर र यात्रुका लागि बीमा, राइडर वा अरु जो कोहीले रिफर गरेवापत कमिसन पाउने व्यवस्था, आपतकालीन सुरक्षाका लागि नेपाल प्रहरीको १०० वा आकस्मिक सम्पर्क व्यक्तिसम्म सूचना दिन एसओएस (सेभ आवर सोल) सेवा पनि राखिएको छ।
नेपालमा प्रयोगमा रहेका राइड सेयरिङ एपहरुले मोटरसाइकल र ट्याक्सीको मात्र सुविधा दिँदै आएकामा जाउँ गुरुले भने त्यसका अलवा बाइक डेलिभरी, मिनी ट्रक, पानी ट्याङ्कर र जीप भाडामा लिन सहजीकरण सेवा उपलब्ध गराउने छ।
यससँगै काठमाडौंमा बसोबास गर्नेहरुलाई कोठा सर्नका लागि मिनी ट्रक, बाइकको डेलिभरी, खानेपानीको आपूर्ति र लामो दूरीका लागि जीप भाडामा लिन सकिनेछ।








