
कुमारी बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले गरेको निर्णयानुसार उक्त सभा कात्तिक २१ गते नक्सालस्थित कुमारी बैंकमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९ का लागि सञ्चालक समितिबाट प्रस्तावित चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) पारित गर्नेछ।
यसका साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण एजेण्डाहरमाथि छलफल गरी पारित गर्नेछ।
सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न, गाभिने वा प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण काम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले आउँदो कात्तिक १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यद्यपि एनसीसी बैंकसँगको मर्जर प्रयोजनका लागि कुमारी बैंकको गत असोज ११ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ। यसर्थ असोज ११ गतेभन्दा अघिसम्म सेयर कारोबार भई प्रचलित नियमानुसारको समयावधिभित्र बैंकको सेयर रजिस्ट्रार कुमार क्यापिटलमा आउँदो कात्तिक १४ गतेभित्र सेयरधनी दर्ता किताबमा दाखिल खारेज नामसारी भई सेयर कायम रहेका सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।








