
तिहार हिन्दु धर्मावलम्बीहरूको दशैँपछिको सबैभन्दा ठूलो पर्व हो । पाँच दिनसम्म मनाइने तिहारलाई यमपञ्चक पनि भनिन्छ । तिहार उज्यालोको उत्सव हो । तिहारमा हरेक घरलाई उज्यालो बनाउने, झिलीमिली पार्ने गरिन्छ । तिहारलाई फूलैफूलको चाड पनि भन्ने गरिन्छ । दशैँ सकिएलगत्तै बजारमा तिहारको रौनक सुरु हुन्छ ।
तिहारमा विशेष गरी फूल तथा सजावट सामग्री विशेष खपत हुने गरेको छ । यस समयमा अघिपछिको तुलनामा फूल तथा मालाहरु बढी खपत हुने गरेको छ । तिहारमा सयपत्री, मखमलीलगायत विभिन्न थरीका फूलको अत्यधिक प्रयोग हुन्छ । यम पञ्चक पनि भनिने तिहारका हरेक दिन फूलको प्रयोग हुन्छ । विशेषतः लक्ष्मी पूजा, म्हः पूजा र भाइटीकामा सयपत्री र मखमली फूलको मालाको प्रयोग हुने गर्छ ।
यस वर्षको तिहारमा गत वर्षको तुलनामा फूल तथा मालाको खपत बढ्ने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । यस वर्ष यसवर्ष २३ लाख ४५ हजार माला खपत हुने एसोसिएसनका महासचिव विश्वमणि पोखरेलको अनुमान छ । अन्य समयको तुलनामा तिहारमा ५ प्रतिशतमात्रै बढी खपत हुन्छ ।
‘यस वर्षको तिहारमा गत वर्षभन्दा बढी फूल÷मालाहरु खपत हुने हाम्रो अनुमान छ’, उनी भन्छन्, ‘तिहारमा सबैभन्दा बढी सयपत्री करिब २० लाख खपत हुने अनुमान छ । त्यसैगरी, मखमली ३ लाख, २० हजार गोदावरीको माला गरेर यसवर्ष २३ लाख ४५ हजार माला खपत हुन्छ टोटल भन्ने हाम्रो अनुमान हो । योभन्दा बढी हुन पनि सक्छ, त्यही हाराहारीमा मात्र हुन पनि सक्छ ।’
गत वर्ष १८ लाख १५ हजार सयपत्री, मखमली ३ लाख र १५ हजार गोदावरीको माला खपत भएको थियो । उनी भन्छन्, ‘गत वर्षको तुलनामा यो वर्ष बढी खपत हुन्छ । किनभने गत वर्ष कोभिडकै टाइम थियो । गत वर्ष भिडभाड हुन्छ हुँदैन, मेला चल्छ चल्दैन भने दोधार थियो । अहिले त सहज छ । सांस्कृतिक कुराहरु गर्नलाई सरकारबाट पनि बन्देज छैन । त्यसैले यो वर्ष बढी हुन्छ भन्ने हाम्रो अनुमान हो ।’
फ्लोरिकल्चर एसोसिएसनले तिहार पर्वलाई नै लक्षित गरेर हामीले हरेक वर्ष तिहारको मुखमै एउटा एक्स्पो गर्दै आएको छ । यस वर्ष पनि आउँदो कात्तिक ३ गतेदेखि ६ गतेसम्म फ्लोरिकल्चर एसोसिएसनले एउटा एक्स्पो गर्दैछ । पुष्प व्यावासयालई प्रवर्धन गर्ने एक्स्पोको मुख्य उदेश्य छ । तिहारमा डेकोरेसन सजावट र टिका लगाएपछि लगाउने माला प्रदर्शनमा राखिने महासचिव पोखरेलले बताए ।
तिहारमा सबैभन्दा बढी सयपत्री खपत हुने गरे पनि घरको सजावटमा जाने चाहिँ बढी गोदावरी र सयपत्री खपत हुने पोखरेल बताउँछन् । मालाको लागि चाहिँ सयपत्री बढी खपत हुने गरेको छ ।
कस्तो छ स्वदेशी उत्पादनको अवस्था ?
एसोसिएसनका अनुसार मखमली र गोदावरी फूल भने आन्तरिक उत्पादनले धान्छ । सरकारी तथ्यांकले ९० देखि ९१ प्रतिशत स्थानीय उत्पादनले धानेको छ । ९ देखि १० प्रतिशत मात्र फूल आयात हुन्छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार गत २ अर्ब ३२ करोडको कारोबार भएको छ । त्यसमा १० प्रतिशत मात्रै आयातित फूल तथा मालाहरु प्रयोग भएको देखिन्छ ।
गत वर्ष ३८ करोड रुपैयाँको फूल आयात भएको छ । त्यसमा फूल माला अलावा बीउबिजनहरु समेत रहेको छ । तयारी वस्तु भने ९÷१० प्रतिशत मात्र विदेशबाट आयात हुने गरेको छ ।
पोखरेल भन्छन्, ‘सयपत्री फूलको माला चाहिँ ३ लाखजति आयात गर्नुपर्छ । स्वदेशी उत्पादन नै बढी खपत हुन्छ । ७ प्रतिशत मात्र आयातित फूल खपत हुन्छ । केही सामानहरु त अवैध पनि आउँछन् होला । अवैध डाटाहरु हामीसँग हुँदैन हामीले पनि डाटाहरु सरकारबाट आएको डाटाहरुलाई नै हेर्ने हो । तर ३ लाखभन्दा बढी नै फूल तथा मालाहरु चाहिँ आयातित नै खपत हुन्छ भन्ने हाम्रो अनुमान हो ।’
तिहारमा साढे १३ करोडको कारोबार
तिहारमा साढे १३ करोड रुपैयाँको फूल तथा माला कारोबार हुने पोखरेल बताउँछन् । उपभोक्ता लेभलको कारोबार हेर्ने हो भने करिब २० करोड रुपैयाँको कारोबार तिहारमा हुन्छ । जसमा कुल खपतको डेढ करोड रुपैयाँ बराबरको आयातित फूल तथा मालाहरु प्रयोग हुन्छन् ।
गत वर्षको तिहारमा ११ करोड ९२ लाख रुपैयाँको कारोबार भएको थियो । यो वर्ष बजारमा फूल मालाको माग बढेकाले माग बढ्ने अनुमान एसोसिएसनले गरेको छ ।
मूल्य बढ्ला ?
यस वर्ष पनि गतसालकै मूल्यमा किनबेच हुने महासचिव पोखरेल बताउँछन् ।
उनी भन्छन्, फूल तथा मालाको मूल्य बढ्दैन । तर डिमाण्ड एकैचोटी धेरै आयो भने ५ देखि १० रुपैयाँ तलमाथि हुने हो । सरदर पुरानै रेटमा बिक्रीवितरण हुन्छ । त्यस्तो अनपेक्षित हुनेगरी मूल्य बढ्दैन । अपेक्षित नै हुन्छ ।’
कहाँ–कहाँ हुन्छ उत्पादन ?
नेपालका सात वटै प्रदेशमा फूलको व्यावसायिक खेति हुने गरेको छ । विशेष गरी सयपत्री फूल तराईका जिल्लाहरु चितवन, नवलपरासी, सर्लाही, रौतहट, सिन्धुली त्यस्तै पहाडी जिल्लाहरु सयपत्री बढी उत्पादन हुन्छ । चितवन, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, रामेछाप लगायत जिल्लाहरुमा उत्पादन हुने गरेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा पनि समूहगत रुपमा फूल व्यासी सञ्चालन हुने गरेको छ । यीनै जिल्लाहरूबाट तिहारका लागि फूल खपत हुने गरेको छ ।








