
नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्ज हुने सम्झौता भएको छ। दुवै लघुवित्तबीच बुधबार मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो।
नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच १००:८० सेयर स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको छ। मर्जरपछि बन्ने संस्थाको नाम नेसनल समिट लघुवित्त वित्तीय संस्था लिमिटेड राखिनेछ।
मर्जरपछि संस्थाको सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत हालको नेसनल माइक्रोफाइनान्सको नै हुने सहमति भएको छ।
मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका नेसनल माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय धादिङ धादिङबेसीमा र समिट लघुवित्तको काभ्रेको बनेपामा रहेको छ।
मर्जरपछि संस्थाको चुक्तापुँजी १ अर्ब रुपैयाँभन्दा बढी कायम हुनेछ। यसैबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि दुवै लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ।








