रवि लामिछाने कहाँबाट लड्दैछन् त चुनाव ?

254
0
Share:

प्रतिनिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा यस पटक चितवन क्षेत्र नम्बर ३ मा प्रचण्डसँग प्रतिष्पर्धा गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तयारी थियो तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल चितवन छोडेर गोरखा तिर लागेपछि खेल नयाँ ढंगले अघि बढेको छ । प्रचण्डलाई चितवनबाट हराएर राष्ट्रिय राजनीतिमा जम्ने सुर कसेका लामिछाने प्रचण्डनै चितवन छोडेर हिँडेपछि अब के गर्छन् भन्ने चासो अझै बढेको छ ।

उमेदवारी दर्ता गर्ने समय सकिन लाग्दा समेत लामिछानेले अहिले सम्म आफ्नो उमेदवारी भने घोषणा गरेका छैनन् । उनी कहाँबाट चुनावी प्रतिष्पर्धा गर्ने छन् भन्ने आम चासो व्यापक रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने चितवन–३ वा काठमाडौं–३ मध्ये एउटा क्षेत्रमा चुनाव लड्ने भएका छन् । निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ताका लागि दुई दिन मात्र बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेको निर्वाचन क्षेत्र छानिसकेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टी स्रोतको जानकारी अनुसार प्रचण्डले चितवन ३ छोडेर गोरखा नगएको भए लामिछानेले चितवन ३ बाटै चुनावी प्रतिस्पर्धा गर्ने पक्कापक्की थियो । प्रचण्डसँगै प्रतिष्पर्धा गर्नका लागि चितवन ३ मा प्रतिष्पर्धा गर्न खोजेका उनले अब के गर्ने भन्ने बिषयमा आन्तरिक छलफल अघि बढाएका छन् ।

यसअघि सो पार्टीका नेता दिपक बोहोराले लामिछानेसँगको फोटो राखेर फेसबुक स्टाटस लेख्दै सभापतिले अन्य पदाधिकारीसँग भन्दा अर्को पार्टीको प्रमुखसँगै चुनाव लड्न सक्ने बताएका थिए । “सभापतिजस्तो मान्छे फुच्चे फुच्चेसँग चुनाव के लड्नु, शास्त्रमा पनि भनिएको छ । सेनापतिले सेनापतिसँगै युद्ध गर्ने छ, उसले पदिकमाथि प्रहार गर्ने छैन,” बोहोराले फेसबुकमा लेखेका थिए । उनले शास्त्रले रविलाई चीतवन–३ नै जुराउला जस्तो छ भनेर उल्लेख गरेका थिए ।

असोज १२ गते लामिछानेले चितवनमा चुनाव केन्द्रित सभा पनि गरेका थिए । तर अन्तिममा प्रचण्डनै चितवन छोडेर गोरखा गएपछि भने लामिछानेले चितवनबाट प्रतिष्पर्धा नगर्न सक्ने पनि बताइएको छ ।

रविले सुरुमा काठमाडौं ३ बाट चुनावी प्रतिष्पर्धा गर्न खोजेका थिए पछि उनका दाजु हरिशरण लामिछानेले पनि सोही क्षेत्रबाट स्वतन्त्र उमेदवार बन्ने भएपछि उनी पछि हटेका हुन् । अहिले हरिशरणले कुनै पनि चुनावी कार्यक्रम अघि बढाएका छैनन् । रविको मतदाता नामावली पनि काठमाडौं ३ मै रहेकोले अब लामिछानेले काठमाडौं ३ बाटै चुनाव लड्ने सम्भावना बढेको पनि स्रोतले जानकारी दिएको छ । ।

कमेन्ट गर्नुहोस्