
मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको लागि उमेदवारी दर्ताको केहि समय मात्रै बाँकी रहँदा नेकपा एमालेले बागमती प्रदेशको दोलखा जिल्लाको प्रतिनिधीसभा र प्रदेशसभा दुवैतिरको टिकटको टुंगो लगाएको छ । प्रतिनिधीसभाको टिकटका लागि मुख्य आकांक्षी रहेका नेताहरुलाई पाखा लगाएर नयाँ प्रतिनिधिलाई टिकट दिईएको छ ।
दोलखामा प्रतिनिधीसभा सदस्य पदका लागि पूर्व मन्त्रीहरु पार्वत गुरुङ र आनन्द पोखरेलबीच हानाथाप चलेको भएपनि दूई नेताबीचको हानाथापलाई उछिन्दै अर्का नेता बालकृष्ण शिवाकोटीले टिकट हात पारेका छन् । गुरुङ र पोखरेल मध्ये एकले टिकट पाउने अुनमान र अपेक्षाकाबीच बालकृष्णले टिकट पाए पछि दोलखाको राजनीति निकै रोचक बनेको छ ।
एमाले अध्यक्ष केपी शर्मा अोलीले दोलखाका प्रतिनिधीसभा र प्रदेश सभाका तीनैजना उम्मेदवारको नाम बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीलाई दिएका छन् । अब एमालेबाट दोलखामा प्रतिनिधिसभाको टिकट बालकृष्ण शिवाकोटीले पाएका छन् ।
त्यस्तै प्रदेश १ को टिकट जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ र २ को टिकट भीमेश्वर नगरपालिकाका निवर्तमान मेयर भरत केसीले पाएको एमाले स्रोतले जनाएको छ । यसअघि प्रतिनिधिसभामा आनन्द पोखरेल र प्रदेशमा क्रमशः नर श्रेष्ठ र बालकृष्ण श्रेष्ठको नाम सचिवालयमा छलफल भएको थियो । पोखरेल र गुरुङको गुट विभाजनका कारण कार्यकर्ता बाँडिने भएकाले तेस्रो व्यक्ति खोजिएको हो ।
शिवाकोटी व्यवसायी पनि हुन् । एमालेको विभिन्न तहमा काम गरेका भएपनि उनको चुनावी प्रतिस्पर्धा भने पहिलो हुनेछ ।








