डिजिटल युगमा डिजिटल दक्षिणा : कार्यान्वयनमा कति सहज ?

244
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/dashai-daxina-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/dashai-daxina-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/dashai-daxina-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/09/dashai-daxina.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />

विश्व नै डिजिटल युगमा प्रवेश गरिसकेको छ । प्रविधिले मानिसलाई यति सुविधा दिएको छ कि घरमै बसेर मोबाइल तथा कम्युटरको सहायतामा अधिकांश कामहरु गर्न सक्ने भएका छन् । विश्वसँगै नेपाल पनि प्रविधिमा अगाडि बढिरहेको छ ।
पछिल्लो समय नेपालमा प्रविधिको प्रयोग बढ्दै गइरहेको छ । केही वर्ष पहिलेसम्म नेपालमा प्रविधिले आफ्नो स्थान जमाउन सकेको थिएन । जसका कारण मानिसहरु बिजुली, खानेपानी, इन्टरनेट लगायतको बिल तिर्न घन्टौं लाइन बस्थे । तर अहिले प्रविधिको प्रयोग बढेसँगै हरेक कामलाई इन्टरनेटको माध्यमबाट गर्न थालेका छन् । जसले गर्दा समय र पैसा दुवैको सदुपयोग हुन थालेको छ । प्रविधिको प्रयोग बढ्दै जाँदा हरेक कुरालाई डिजिटलाइजेसन गुर्नपर्ने जोडमा विज्ञहरू लागि परेका छन् ।

यतिसम्म कि अब दशैँको दक्षिणालाई पनि डिजिटल बनाउनुपर्छ भनेर आवाज उठ्न थालिसकेको छ । केही वर्ष पहिलेदेखि नै डिजिटल दक्षिणाको चर्चा परिचर्चा सुरु भएको हो । दशैँमा नयाँ नोट छपाईले मुलुकलाई आर्थिक भार पर्न जाने भन्दै विज्ञहरु दशैँको दक्षिणालाई नै डिजिटल रुपमा पठाउनुपर्ने बताउँदै आएका छन् ।

दशैँलाई ‘डिजिटल दक्षिणा वर्ष’का रुपमा मनाउन जोड

बैंकर तथा नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले यसपालिको दशैँतिहार ‘डिजिटल दक्षिणा वर्ष’का रुपमा मनाउन आग्रह गरेका छन् । उनले नयाँ नोट सटहीभन्दा पनि सकेसम्म डिजिटल कारोबारलाई बढावा दिन आग्रह गरेका हुन् । ‘नोट’लाई ‘खेलौना’का रुपमा प्रयोग गर्न नदिने कुरामा राष्ट्र बैंक प्रस्ट हुनुपर्ने ज्ञवालीको धारणा छ । एकातर्फ बैंकिङलाई डिजिटल हुन प्रोत्साहन गर्ने अर्कोतर्फ दक्षिणा दिने भन्दै खुद्रा नोटहरु चाड पर्वमा सटही गर्नु नहुने उनी बताउँछन् ।

‘बरु यस वर्षलाई ‘डिजिटल दक्षिणा बर्ष’का रुपमा मनाऔँ र दक्षिणा खातामा रकमान्तर गरेर दिऔँ, पैसाको बचत हुने, नोटको आयु बढ्ने, नोट छपाइ खर्च बच्ने, बैंकिङलाई खुद्रा नोट व्यवस्थापनको टाउको दुखाइ पनि नहुने । नोटको आयु घट्ने पनि दशैँको बेला नै हो’, उनी भन्छन् ‘पुराना नोट नै प्रयोग गर्दा फरक पर्दैन ।’
नयाँ नोट सटही गर्ने भन्दा पनि डिजिटल कारोबारलाई बढावा दिँदै सकेसम्म ‘डिजिटल दक्षिणा वर्ष’ मनाउँदा कसो राम्रो हुने उनी बताउँछन् ।

डिजिटल युगमा डिजिटल दक्षिणा – कति सहज ?

अहिलेको युग डिजिटल युग हो । अहिले स्मार्टफोनको जमाना छ । सबैको हात–हातमा स्मार्टफोन छ । स्मार्टफोनले मान्छेहरु धेरैजसो काम गर्न सहज पनि बनाइदिएको छ । अहिले मोबाइल तथा इन्टरनेट बैकिङ र डिजिटल वालेटमार्फत मोबाइल रिचार्ज देखि स्कुल कलेजको फी, इन्स्योरेन्सको किस्ता तथा धारा र बिजुलीको महसुल तिर्न तिर्न थालिसेका छन् । सपिङ मलदेखि रेष्टुरेण्टहरुले पनि नगदरहित कारोबार सुरु गरिसकेका छन् । लगभग सबै ठाउँमा इन्टरनेटको पहुँच पुगिसकेको छ ।

यसअर्थ पनि हरेक कुरालाई डिजिटलाजेसन गर्न असम्भव भने छैन । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले दशैँलाई लक्षित गर्दै डिजिटल दक्षिणालाई प्रोत्साहन गर्ने उद्देश्यले क्यासब्याकसहित विभिन्न स्किम समेत ल्याउन थालेका छन् । इन्टरनेट र स्मार्टफोन सबै ठाउँमा पुगिसकेको अहिलेको अवस्थामा दशैँलाई डिजिटल दक्षिणाको रुपमा मनाउन सकिने बैंकर ज्ञवाली बताउँछन् ।

उनी भन्छन्, ‘हामीले हाम्रो सोच नै नेपाल डिजिटल भएको छैन भन्ने बनायौँ । अहिले इन्टरनेटको एक्सेस नेपालको जुनसुकै ठाउँमा पुगिसकेको छ । फेसबुक, टिकटक चलाउन सक्ने ठाउँमा ई–बैकिङ, क्यूआर कोड चलाउन नसक्ने र नचल्ने भन्ने हुँदैन । हामीले अलिकति प्रोमोट गर्यौं भने सबै ठाउँमा नहोला तर धेरै ठाउँमा डिजिटल दक्षिणा सम्भव छ ।’

डिजिटललाई प्रोमोट गर्ने बेला भएकाले यतिबेला नयाँ नोटहरू रोक्नुपर्ने उनी बताउँछन् । डिजिटल एक्सेस, स्मार्टफोन, ई–बैंकिङबारे जानकार र इन्टरनेट भएको खण्डमा यो कुरा सजिलै सम्भव हुने उनी बताउँछन् ।

डिजिटल दक्षिणा समयको नै माग भएको कृषि विकास बैंकका उपप्रबन्धक प्रताव सुवेदी बताउँछन् । उनी भन्छन्, ‘अहिले डिजिटल दक्षिणा समयको माग नै बनिसकेको छ । हामीले पुरानो चलनअनुसार नयाँ नोट दक्षिणा दिएर दशैँ तिहार लगायतको चाडपर्व मनाउने चलन रहँदै आएको छ । मान्छेले पैसा पाउँछ हराउने भो । राष्ट्र बैंकलाई पैसा छाप्न लागत लाग्ने भो त्यो पैसाको त्यति भ्यालू पनि हुँदैन । अहिले क्यूआर कोडबाट पे गर्न सक्ने अवस्थामा आइसकेका छौँ त्यो हुँदाखेरी अहिले डिजिटल दक्षिणा भनेको अहिले समयको माग नै हो ।’

डिजिटल दक्षिणा अहिले सुरुवाती चरणमा रहेको र भोलिका दिनमा समयसँगै डिजिटल दक्षिणाको कार्यान्वयनमा जाने उनी बताउँछन् । डिजिटल दक्षिणामा जाने भनेर अभियान त चलन थाल्यो । तर दक्षिणामा धार्मिकसँगै सांस्कृतिक पक्ष पनि जोडिएको छ । यसलाई कार्यान्वयन सहज होला त ? भनेर अर्थसञ्जालले गरेको प्रश्नमा उनले दशैँको सुरुवात हुँदै गर्दा पैसा नै नछापिएको बताए ।

‘मेरो आफ्नो बुझाई के छ भने यो दशैँको सुरुवात हुँदै गर्दा पैसा छापिएको थिएन । टिका लगायर फुल र आशीर्वाद दिने प्रचलन थियो । दक्षिणा बाढ्ने चलन त पछिपछि सुरु भएको हो । नेपालमा पहिलो पहिलोपटक रत्न मल्लले १७औँ शताब्दीमा तामाको मुद्रा चलाएका थिए । त्योभन्दा अगाडि त सिक्का थिएन हो होइन ? पैसा दिने भन्ने कुरा अलिक पछाडिकै हो’, उनले भने ।

समयअनुसार हिजो जसरी सिक्का र कागजी पैसा सुरु भयो त्यसरी नै अब यो चलनलाई पनि विकास गर्न सकिने उनी बताउँछन् ।

यस्ता छन् चुनौतीका पाटो

डिजिटल दक्षिणा कार्यान्वयनमा चुनौती पनि उत्तिकै छ । हामीलाई दशैँमा टिका ग्रहण गरिसकेपछि कटकटे नयाँ नोट लिने बानी परिसकेको छ । नयाँ नोट भन्ने बित्तिकै हामी दशैँ नै सम्झन्छौँ । कुनैपनि कुराको परिवर्तन असम्भव छैन । तर परिवर्तन हुनको लागि भने समय लाग्नुका साथै अनेक चुनौती पनि थपिदिन्छ । दशैँमा टिका लागएर दक्षिणा दिने चलन निकै पुरानो बनिसकेको छ । हाम्रो बानी यस्तो बनिसकेको छ कि दशैँमा जमारा, टिका र दक्षिणा अनिवार्य नै बनिसकेको छ । हुनेले मात्र होइन दशैँमा नहुनेले समेत सरसापट गरेर समेत दशैँ मनाउने गरेका छन् ।

त्यसैले पनि डिजिटल दक्षिणा कार्यान्वयन चुनौतीपूर्ण नै छ । आज सम्भव नभए पनि भोलिको दिनहरुमा यसलाई कार्यान्वयनमा लैजान सकिने कृषि विकास बैंकका उपप्रबन्धक सुवेदी बताउँछन् । उनी भन्छन्, ’भोलिका दिनमा यसले सफलता पाउँछ । अहिले हामी डिजिटल दक्षिणामा जान सक्छौँ । तर इन्टरनेट, ई.बैकिङ र चलाउन जान्ने नजान्ने ज्ञानको कुरा हुनसक्छ । शहरी क्षेत्रमा भने यो सम्भव छ ।’

पैसासँग संस्कृति जोडिँदैन : संस्कृतिविद्

हाम्रो समाज, हाम्रो संस्कृति, हाम्रो परम्पराहरू कहिल्यै पनि पैसासँग दाँजिएको, नगदसँग जोडिएको विषयवस्तु नभएर यो एउटा संस्कारको विषय भएको संस्कृतिविद् ओमप्रसाद धौभडेल बताउँछन् ।

‘दशैँमा दक्षिणा दिने परम्परा हाम्रो संस्कृतिसँग मिल्दैन । जुन हामीले मनाउँदै आइरहेको परम्परासँग यो चाहीँ अलिकति फरक छ’, उनी भन्छन्, ‘हाम्रो परम्परा, संस्कृतिमा कस्तो छ भने जसले फूल, प्रसाद दिन्छ दक्षिणा चाँही उसलाई दिनुपर्छ । जस्तो पुरोहितले हामीलाई टिका लगाइदिन्छन् भने पुरोहितलाई भने हामीले त्यसको सट्टामा केही चिज दक्षिणाको स्वरुपमा दिन्छौँ । किनभने खाली हात लिनुहुँदैन भन्ने परम्परा छ । अब दशैँको सन्दर्भमा चाँही ठूलाबडाले टिका लाइदिन्छन् । ठुलाबडाले टिका लगाईदिँदा दक्षिणा पनि दिने परम्परा छ, जुन अन्य परम्परासँग जोडिँदैन ।’

दशैँमा टिका लगाएर दक्षिणा दिने चलनलाई परिवर्तन गर्नेपर्ने उनी बताउँछन् । ‘दशैँमा ठूलाबडाले टिका लगाईदिनुका साथसाथै नयाँ नोटहरू अथवा दक्षिणा दिने एउटा परम्परा छ । त्यसलाई हामीले अलिकति सुधार गर्नुपर्ने हो की जस्तो लाग्छ ।’
उनले दक्षिणा दिने प्रचलनले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई समस्यामा पार्ने बताए । उनी भन्छन्, ‘दक्षिणा दिने जुन परम्परा छ, त्यसले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु, जेष्ठ नागरिकलाई आर्थिक भार पर्न जान्छ । हाम्रो समाजमा देखासिकी गर्ने परम्परा छ । त्यसैले यो चलनमा हामीले अलिकति परिवर्तन ल्याउनुपर्छ । हिजोको दिनमा दशैँ भनेको विशेष गरिकन बालबच्चाहरूको दशैँ हुन्थ्यो । मासु एकचोटी खाने, नयाँ लुगा लाउने, चंगा उडाउने र सँगसँगै टिका लगाउन जाँदा खेरि दक्षिणा पनि पाउने । त्यो हिजोको दशैँ थियो । अहिलेको समयमा मिठो खान, राम्रो लगाउन दशैँ नै कुर्नु पर्दैन । दक्षिणा लिने एउटा चलनमा किन परिवर्तन ल्याउन नसकेको ?’

डिजिटल दक्षिणाले झनै विकृतिको रुप लिने धौभडेल बताउँछन् । ‘हिजोको दिनमा नयाँ नोटकै लागि पनि आर्थिक भार बढ्न गयो । राष्ट्र बैंकलाई पनि गाह्रो भयो । बैंकहरुमा नयाँ नोट साट्नका लागि भिड पनि त्यति नै देख्यौं । जुन अहिले पनि देखिराखेका छौँ । त्यसलाई अलिकति सहजीकरण र अहिलेको आधुनिक प्रविधि भित्र्याउन खोजियो । यो भित्रियो भने त यसले झन् विकृतिको रुप लिन्छ । यो विकृतिहरु हाम्रो समाज र संस्कृतिमा आउन दिनु हुँदैन ।’ संस्कृति लेनदेन र प्रतिस्पर्धाको विषय नभएको उनले स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्