इलाका प्रशासन कार्यालय जितपुरसिमराले एक गैरनेपाली युवतीलाई नेपाली नागरिकता दिएको खुलेको छ । निजगढ नगरपालिका–१२ ठेगाना उल्लेख गरी २१ वर्षीया रजनी गोलेलाई नेपाली नागरिकताको प्रमाण दिइएको खुलेको हो । रजनी भने भारत पश्चिम बंगाल राज्यको दार्जीलिङकी स्थायी बासिन्दा भएको खुलेको छ ।
‘रजनी भने राई थरकी दार्जीलिङकी हुन्,’ निजगढ नगरपालिका १२ नम्बरका वडाध्यक्ष ज्ञानबहादुर गोलले भने, ‘मलाई र पञ्जिकाअधिकारी (वडा सचिव) लाई झुक्याएर जन्म दर्ता र नागरिकताका लागि सिफारिस गराएको रहेछिन् ।’
नागरिकता लिएको केही दिनमै गाउँमा हल्लीखल्ली मच्चिएपछि आफूले त्यसबारे बुझ्दै जाँदा रजनी गैरनेपाली भएको थाहा पाएको वडाध्यक्ष गोलेको दाबी छ । इलाका प्रशासन कार्यालयले उपस्थितिका लागि पत्र काटेपछि रजनी अहिले सम्पर्कविहीन छिन् । वडाध्यक्ष गोलले उनकी नागरिकता छानबिन गरी खारेजीका लागि इलाका प्रशासन कार्यालयमा आफैंले गत साउन १ मा निवेदन दिएका थिए ।
उनको निवेदनको आधारमा इलाका प्रशासन कार्यालयले रजनीसहित उनले बाबुआमा बनाएका र सनाखतमा बस्नेदेखि सरजमिन मुचुल्कामा बस्नेहरूलाई समेत उपस्थितिका लागि निजगढ इलाका प्रहरी कार्यालयलाई पत्राचार गरेको छ । पत्रको आधारमा प्रहरीले ती सम्बन्धित व्यक्तिहरूलाई मौखिक खबर गर्नेबाहेक अरु केही गरेको छैन ।
‘पक्राउ गरी छानबिन गर्न पत्र आएको छैन । सोधपुछका लागि इलाका प्रशासन कार्यालयमा सोझै उपस्थित गराइदिने भनेर पत्र आएकोले वडाध्यक्षसहित सम्बन्धित सबैलाई जानकारी गराइसेको छु,’ ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जीव ओलीले भने, ‘उपस्थित भयो/भएन थाहा छैन ।’ रजनीले वडाध्यक्षलाई सिफारिस गराउन वडा कार्यालय गएकी थिइनन् । उनले आमा बनाएकी जिरामाया गोलेलाई पठाएकी थिइन् ।
नागरिकताका लागि सिफारिस गराएको अघिल्लो दिन अर्थात जेठ २३ मा उनले वडा कार्यालयबाट जन्म दर्ताको प्रमाणपत्र लिएकी थिइन् । जन्म दर्तादेखि नागरिकताको अनुसूची फारम भने कर्मचारीले नै भरेको वडाध्यक्ष गोलले बताए ।
वडाध्यक्ष गोलेले जेठ २४ मा नागरिकताका लागि सिफारिस गरेका थिए । ‘सबै झुटो विवरण दिएर नागरिकताको अनुसूची फारम र जन्म दर्ता फारम भराएको रहेछ,’ वडाध्यक्ष गोलेले भने, ‘जिरामायाको वास्तविक छोरीले नागरिकता लिन लागेको मलाई पर्यो । त्यसैले छिमेकी नै परेकोले मैले झुक्किएर सिफारिस गरेँ ।’
हेटौंडाका केही व्यक्तिको ‘सेटिङ’ मा आर्थिक प्रलोभनमा परी श्यामराज र जिरामायाले बाबुआमा बनेर रजनीलई नागरिकता दिलाएको आशंका गरिएको छ ।
गत साउन १ गते इलाका प्रशासन कार्यालयले रजनीलाई नागरिकताको प्रमाण पत्र दिएको हो । रजनीले श्यामराज गोलेलाई बाबु र जिरामाया गोलेलाई आमा भनेर विवरणमा उल्लेख गरेकी हुन् ।
इलाका प्रशासनले श्याम र जिरामायाको छोरी भनेर राई थरकी रजनीलाई गोलेको थरबाट ३३–२–७९–००५१३ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र दिएको हो । इलाका प्रशासन कार्यालय प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले वडाध्यक्ष गोलेले नागरिकताबारे छानबिन गर्न निवेदन दिएपछि रजनीसहित नक्कली बाबुआमा बनेकालाई उपस्थित गराउन प्रहरीलाई पत्राचार गरिएको बताए । रजनीको बाबु र आमा भनिएका श्यामराज र जिरामाया सोही वडाको नेपाली कांग्रेसको वडा पार्टी सचिव सोनामसिं गोलेका भाइ–बुहारी हुन् ।