नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता रद्द भएकोबारे अमेरिकालाई औपचारिक जानकारी गराउन तत्काल पत्र लेख्नुपर्ने बताएका छन् ।
पुष्पलाल मित्रता केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल पत्र पठाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको बताउँदै यसमा ढिलाइ गर्न नहुने बताए ।
‘मैले र प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई तुरुन्त चिठी पठाउनुस् ढिलाढाला हुने काम नहोस् भन्यौं’ नेपालले भने, ‘जनताको तहबाट पनि आवाज उठ्नुपर्छ । जनता सजक हुनुपर्छ । नेपाली राष्ट्रियता जोगाउने भनेको नेपाली जनता हुन् । जनतामा चेतना र जागरण आयो भने आवाज बुलन्द हुन्छ ।’
एसपीपी सम्झौता तत्कालीन प्रधानमन्त्री केपी ओलीको समन्वयमा भएको नेपालले बताए । ‘नेपालले एसपीपी सम्झौताको पत्र पठाएको रहेछ । आर्मीले पठाउनै नहुने पत्र पठाएको रहेछ । त्यो पनि प्रधानमन्त्री केपी ओलीको स्वीकृत लिएर पठाएको रहेछ । विडम्बना भयो ।’