
लमजुङको मध्यनेपाल नगरपालिकाका तीनजनामा डेंगुको संक्रमण पुष्टि भएको छ । मध्यनेपाल अस्पतालमा उपचारका निम्ती गएका तीनजनाको स्वास्थ्य परीक्षण गर्दा दुईजना पुरुष र एक जना महिलामा डेँगु सक्रमण पुष्टि भएको हो । डेंगु रोग संक्रमण पुष्टि हुनेहरू मध्यनेपाल ६, भोर्लेटारका रहेका छन् ।
डेंगु संक्रमण पुष्टि भएकामध्ये एकजनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि पोखरा पठाइएको मध्यनेपाल अस्पतालका डाक्टर सुशील पौडेलले जानकारी दिए । अस्पतालमा आएका बिरामीमा डेंगु संक्रमण पुष्टि भएसँगै स्थानीय नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय लमजुङमा जानकारी गराइएको अस्पतालले जनाएको छ ।
लामखुट्टेको टोकाइबाट डेँगु रोगको जोखिम हुने र पछिल्लो समय ठाउँठाउँमा यसको लक्षण देखिएकोले सचेत हुन स्वास्थ्य कार्यालय लमजुङले सर्वसाधरणलाई अनुरोध गरेको छ । एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा मानिसलाई डेंगु रोग सर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।