चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ । यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो । कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुत गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी राजस्व सङ्कलन भएकोे तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नाराद गौतमले जानकारी दिए ।
उनका अनुसार लक्ष्य एक अर्ब ४६ करोड रहेकामा तीन अर्ब ४२ करोड अर्थात् २३३ प्रतिशत राजस्व उठेको हो । सामान आयात, मापदण्डको पालना र व्यवसायीलाई दिइएको प्रशिक्षण लगायतका कारणले सोचेकोभन्दा राम्रो सङ्कलन भएको प्रमुख भन्सार अधिकृत गौतमको भनाइ छ ।
प्रमुख भन्सार अधिकृत गौतमका अनुसार अरूको अनुपातमा रोल कपडा बढी आउने गरेको छ । त्यसपछि स्याउ तथा मेशिनरी उपकरणहरू आयात भएको छ । चाडपर्वका ल्याउने सामग्री बढी आउँदा र नाका अलि सहज भएको खण्डमा लक्ष्यमा पुग्न सक्ने सम्भावना रहेको समेत उनले बताए । सडकको कारणले लोड गरिएका कन्टेनर भ्यानहरू नआएकोभन्दा पनि चीनबाटै आयतमा कमी भएको गौतमले बताउनुभयो । सरकारले जोडदार पहल गरेर नाका सहज सञ्चालन हुने वातावरण बनाउनुपर्ने पत्रकार दिनेश दुलाल बताए । भूकम्पअघि यस नाकाबाट दैनिक रु डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो ।