नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक पारितका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता देखाएका छन् । यसै सन्दर्भमा प्रधानमन्त्री देउवाले शुक्रबार बिहान गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलका अनुसार बालुवाटारमा भएको छलफलमा नागरिकता विधेयक संसदबाट पारित गर्ने विषयमा गठबन्धनका नेताहरु सहमत भएका छन् । तर आफ्नो दल राष्ट्रिय जनमोर्चाको भने असहमति रहेको उनले बताइन् ।
बालुवाटार बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित गठबन्धनका दोस्रो तहका नेताहरुको समेत सहभागिता थियो । यस्तै गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री गोविन्द बन्दीसमेत सहभागी थिए ।
नागरिकता विद्येयक गृहमन्त्री खाणले आज बस्ने संसद बैठकमा निर्णयार्थ पेश गर्ने भएका छन् । विधेयकमा ४५ जना सांसदले ३१ वटा संशोधन दर्ता गराएका छन् । यो विधेयक संसदीय समितिमा नपठाइ संसदबाटै पारित गर्ने सरकारको तयारी छ ।
सामान्यतया विधेयकहरुमाथि दफावार छलफल गर्न विषयगत समितिमा पठाउने गरिन्छ । तर, विगतमा नागरिकता विधेयक विषयगत समितिमा पठाउँदा गिजोलिएको, सरकारले चाहेको समयमा पारित गराउन नसकेको जस्ता दृष्टान्त देखाउँदै सरकारले हाउसमै दफावार छलफल गरेर सिधै पारित गराउन लागेको हो । सरकारको यही चाहना अनुसार सभामुखले पनि आजको संसद बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयकलाई राखेका छन् ।