![](https://godawarikhabar.com/wp-content/uploads/2022/07/22-1-750x375.jpg)
स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि यसै बर्ष प्रदेश र प्रतिनिधीसभाको निर्वाचन पनि गर्नु पर्ने संवैधानिक बाध्यता सरकारसँग रहेको छ । विस्तारै राजनीतिक दलहरुलाई संघीय निर्वाचनको चटारोले छुन थालेको छ ।
निर्वाचन आयोगले संघीय निर्वाचनको मिति प्रस्ताव गरेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरिसकेको छ । निर्वाचन आयोगले मंसिर २ गतेलाई प्रस्ताव गरेर निर्वाचन घोषणा गर्न प्रधानमन्त्री देउवालाई सुझाएको छ तर प्रधानमन्त्री भने पहिला ज्योतिषसँग परामर्श गरेर मात्रै चुनावको मिति घोषणा गर्ने पक्षमा देखिएका छन् ।
केहि दिनमै संघीय निर्वाचनको मिति घोषणा हुन सक्ने अनुमान गरिएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टी भित्रकै चर्को बिरोधका बावजुत पनि प्रधानमन्त्री एवं कांग्रेसका सभापति देउवाले नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरुसँग गठबन्धन गरेका थिए । अबको निर्वाचनमा दलहरु कसरी चुनावमा जालान् भन्ने चासो र जिज्ञासा सर्वत्र देखिएको छ ।
अहिले भएकै गठबन्धन कायम रहेर निर्वाचनमा जालान् ? दलहरु छुट्टाछुट्टै निर्वाचनमा जालान् ? या बाम गठबन्धन अथवा अरु कुनै शक्ति समिकरण मिलेर निर्वाचनमा जाने हुन् ? भन्ने चासो सबैतिर देखिएको छ । प्रधानमन्त्री देउवा सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले समेत यहि गठबन्धन चुनाव सम्म जाने दाबी गर्दै आएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धनको आयु असार १७ गते सम्म मात्रै भएको भविश्यवाणी गरेका थिए । ओलीले तोकेको आयु भन्दा अघि गठबन्धन बढि सकेको छ । एमालेले चाहेको भए गठबन्धन तत्काल भत्काउँन सक्ने ओलीले निरन्तर बताइरहेका छन् । एमाले अब गठबन्धन भत्काउँन तीर लाग्ला की अहिलेको गठबन्धनलाई सामना गर्न तीर लाग्लान् भन्ने चासो पनि देखिएको छ ।
एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुको अभिव्यक्ति सुन्दा यथाअवस्थामा प्रचण्ड या माधव नेपालहरुसँग गठबन्धन या तालमेल गर्ने मुडमा एमाले देखिँदैन । कांग्रेससँग सहकार्यमा रहेका प्रचण्ड र माधव नेपाललाई बाम शक्ति मान्नै एमालेका नेताहरु तयार देखिएका छैनन् ।
एमाले महासचिव पोखरेलले पहिले कांग्रेससँगको सरकार छोडेर आए मात्रै प्रचण्ड माधवहरुसँग सहकार्यको बारेमा सोच्न सकिने बताएका छन् भने उपाध्यक्ष बिष्णु पौडेलले प्रचण्ड र माधव नेपालहरु बामपन्थी नै हुन नसक्ने जिकिर गरेका छन् । एमाले अध्यक्ष ओलीले अहिले उनीहरुसँग तालमेलको कुनै सम्भावना नरहेको प्रष्ट पारेका छन् ।
एमाले अध्यक्ष ओलीमा एक्लै चुनावी मैदानमा सामाना गर्न सकिन्छ भन्ने आँट देखिएको छ । अहिलेकै गठबन्धन कायम रहेर जाँदा एमालेले कस्तो मत परिणाम ल्याउला भन्ने विश्लेषण चलिरहेको बेला अरु दल गठबन्धन गरेर जाँदा एमालेलाई झनै फाइदा हुने विश्लेषण पनि सुरु भएको छ ।
राजनीतिक बिश्लेषक डा प्रेम शर्माले कांग्रेस, माओवादी, नेकपा एस, जसपा सबै मिलेर चुनावमा गए एमाले झनै बलियो हुने विश्लेषण गरेका छन् । गठबन्धन गर्दा अन्य दलहरु भित्र आन्तरिक विवाद चर्को हुने र त्यसको फाइदा एमालेलाई हुने डा शर्माको बुझाइ छ ।
गठबन्धन हुनुनै जितको अग्रिम ग्यारण्टी हुनु नभएको भन्दै शर्माले त्यस्तो अवस्थामा एमालेले सबै निर्वाचन क्षेत्रमा आफ्नो उमेदवार खडा गर्ने र कन्फीडेन्टलेनै धेरै सिट जित्न सक्ने बताउँछन् । एक्लै चुनावमा जाँदा जनताको सहानुभूति बढि मिल्ने र एमाले बलियो शक्ति भएको सन्देश जाने उनले बताए । यसको प्रभाव समानुपातिक मतमा पनि पर्ने भन्दै उनले समानुपातिकमा धेरै भोट एमालेको आउँने बताए ।
गठबन्धनमा जाँदा अरु दलको भद्रगोल हुने ठोकुवा डा। शर्माले गरेका छन् । त्यस्तै अर्का राजनीतिक विश्लेषक डा। ललन चौधरीले पनि देउवा, प्रचण्ड र माधव गठबन्धन बनाएर गए ओलीलाई फाइदा हुने बताउँछन् । अहिले जनता सचेत रहेको भन्दै उनले ओलीले राष्ट्रियता र देशभक्तीको अडान सहित निर्वाचनमा गएमा त्यसैलाई जनताले अनुमोदन गर्ने चौधरीको दाबी छ ।
एमाले भित्र केहि नेताहरु बाम गठबन्धन गरेर जानु पर्ने पक्षमा देखिएका छन् भने केहि नेताहरु प्रचण्ड र माधवलाई बामपन्थीनै मान्न नसकिने भन्दै तत्काल मिल्न नहुने पक्षमा देखिन्छन् । एमाले अध्यक्ष ओलीले चुनाव जितिन्छ की हारिन्छ भन्दैमा हतारमा अप्राकृतिक गठबन्धन गर्ने पक्षमा एमाले नरहेको प्रष्ट पारेका छन् ।
ओलीले यदी एमालेले चाहेको खण्डमा यसअघि नै अहिलेको सत्तारुढ गठबन्धन टुटिसक्ने दाबी गरेका छन् । त्यसकारण यो साँचो डिभोर्स गर्नका लागि नक्कली बिहे गर्न एमालेले हतार गर्दैन’ ओलीले भने । अहिलेको सरकारबाट गठबन्धन कति फलदायी हुने रैछ भन्ने बुझ्न सकिने ओलीले भने । उनले सरकारमा पुग्नुमात्र आफूहरुको उदेश्य नभएको बताए ।
‘यदी गठबन्धन जस्तो पनि जसरि बनाए हुन्छ भनेर एमाले ठान्थ्यो भने यो गठबन्धन उहिले नै टुटिसक्थ्यो र अर्को बनिसक्थ्यो,’ ओलीले सम्पादकहरुको प्रश्नको जवाफ दिँदै भने, ‘नेकपा एमालेका लागि गठबन्धनको हेराफेरि, सरकारको हेराफेरि आफ्नो भूमिकाको होइन् । देशमा जुन कुशासन छ त्यसको ठाउँमा सुशासन ल्याउन सकिन्छ कि सकिँदैन भन्ने हो ।’
सरकार परिवर्तन मात्र भन्दापनि परिस्थितिमा परिवर्तन ल्याउने कुरा मुख्य भएको ओलीले बताए । गठबन्धनका लागि गठबन्धन अथवा संख्यात्मक परिवर्तन ल्याउन सकिन्छ र सरकार परिवर्तन ल्याउन सकिन्छ भन्ने होइन, परिस्थितिमा परिवर्तन ल्याउने मुख्य कुरा हो’ ओलीले भनेका छन् ।