
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेका प्रहरीले सन्दिग्ध हमलाकारीले ‘निश्चित संस्था’ विरुद्ध ईख राखेको बताएका छन् । ती आरोपित बन्दुकधारी ४१ वर्षका तेत्सुया यामागामीले आबे पनि उक्त समूहको हिस्सा रहेको ठानेको र त्यसकै कारण उनलाई गोली हानेको बताएका छन् । सो समूहको नाम नखुलाईकन प्रहरीले त्यस्तो जानकारी दिएको हो । एउटा राजनीतिक अभियानमा सम्बोधन गरिरहँदा गोली हानिएका आबेको शुक्रवार बिहान अस्पतालमा निधन भएको थियो । यामागामीले उनलाई घरेलु बन्दुकले गोली हानेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
६७ वर्षका आबे जापानका सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्री थिए । बन्दुक सम्बन्धी अपराध एकदमै दुर्लभ रूपमा हुने जापानमा भएको उनको हत्या मानिसहरूलाई स्तब्ध बनाएको छ । माथिल्लो सदन अन्तर्गत आइतवारका लागितय गरिएको उपचुनावमा लिबरल डिमेक्रेटिक पार्टीको पक्षमा अभियानमा सहभागी भइरहँदा आबेमाथि गोली प्रहार भएको थियो । लिबरल डेमेक्रेटिक पार्टीका नेता रहेका जापानका प्रधानमन्त्री फुमिओ किशिदाले आबेको निधनको खबरले आफू ’निशब्द’ भएको भन्दै जापानको लोकतन्त्रले ’हिंसासामु कहिले पनि घुँडा नटेक्ने’ बताएका छन् । उनले थप सुरक्षा व्यवस्थासहित शनिवार चुनावी अभियान सञ्चालन हुने र आइतवारको मतदान जारी रहने बताए ।
बन्दुकधारीले किन भाग्ने प्रयास गरेनन् ?
प्रहरीले हमलाकारीले आबेलाई नै निशाना बनाउनुको कारणका बारेमा अनुसन्धान गरिरहेका छन् । उनीहरूले हमलाकारी एक्लैले यो काम गरेका हुन कि होइनन् भन्ने पनि छानबिन गरिरहेको जनाएका छन् । एक जना राजनीतिक उम्मेदवारको पक्षमा दक्षिणी सडक नारामा सडकको चोकमा उभिएर सम्बोधन गरिरहेका बेला हमलाकारीले आबेलाई पछाडिबाट गोली प्रहार गरेका थिए । उक्त घटनास्थलमा खिचिएका तस्बिरमा गोली हान्नुअघि उनी आबे नजिकै उभिरहेको देखिन्छ । प्रत्यक्षदर्शीहरूले एक जना व्यक्तिले ठूलो बन्दुक बोकेर आबेभन्दा केही मिटर पर हिँडेको र दुई पटक गोली चलाएको देखेको बताएका छन् । विश्वास नै गर्न नसकिने घटना भएको देखेर छेउछाउमा उभिएका व्यक्तिहरू चिच्याइरहँदा आबे भुईँमा ढलेका थिए । त्यसपछि सुरक्षा अधिकारीहरू ती बन्दुकधारीमाथि हाम फालेका थिए । तर हमलाकारीले भाग्ने कुनै प्रयास गरेनन् ।

arthasanjal.com/wp-content/uploads/2022/07/japan.jpg 624w” sizes=”(max-width: 500px) 100vw, 500px” />






